ब्लाष्ट टाईम्स : धरानबाट प्रकाशन हुने ब्लाष्ट टाइम्स दैनिकले “कार्यकक्षमै थुनिए क्याम्पस प्रमुख” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । विराटनगरस्थित महेन्द्रमोरङ आदर्श बहुमुखी क्याम्पसका प्रमुख बाबुराम तिम्सिनाले शैक्षिक सामाग्री खरिदमा अनियमितता गरेको आरोप लगाउँदै विभिन्न विधार्थी सङ्गठनहरुले उनलाई कार्यकक्षमै दुईघण्टा थुनिदिएका छन् । चार विधार्थी सङ्गठनले सोमबार दुई घण्टा क्याम्पस प्रमुखलाई कार्यकक्षमा थुनेपछि मङ्गलबार विहान ११ बजे वार्ता गर्ने सहमतिमा ताला खोलेका हुन् । क्याम्पस प्रमुखको कार्यकक्षमा लगाएको ताला खोलिएपनि विधार्थी सङ्गठनले माग पुरा नभएसम्म क्याम्पस प्रशासनमा लगाएको ताला भने नखोल्ने विधार्थी नेता अभिमन्यू यादवले बताए ।

उदघोष : विराटनगरबाट प्रकाशन हुने उद्घोष दैनिकले “पीडकलाई १५ लाख क्षतिपूर्ति ! ” र्शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । अदालतमा पीडितलाई क्ष्तिपूर्ति भराउन फैसला गरेको धरौटी रकम कर्मचारीको मिलेमतोमा प्रतिवादिलाई फिर्ता गरेको रहस्य सार्वजनिक भएको छ । लेनदेन मद्दामा जिल्ला अदालत मोरङका न्यायधिश नवराज दाहालको इजलासले गरेको फैसला विपरीत कर्मचारीको मिलेमतोमा सुटक्क प्रतिवादीलाई नै धरौटी फिर्ता गरेको रहस्य सार्वजनिक भएको हो । विराटनगर–३ घर भई पछिल्लो समय भारतमा बस्दै आएका केदार पराजुलीले आफु पराजित भएको मुद्दामा कर्मचारीसंग मिलेमतो गरी धरौटीवापत जम्मा १४ लाख ९१ ह्जार रुपैँया सुटुक्क फिर्ता लगेका हुन् ।

फास्ट टाइम्स : धरानबाट प्रकाशन हुने फास्ट टाइम्स दैनिकले “प्रदेश नं. १ मा धानको उत्पादनमा वृद्धि” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । पूर्वी नेपालमा यस वर्ष १३.८० प्रतिशतले धानको उत्पादनमा वृद्धि भएको छ । यस वर्ष १२ लाख ६१ ह्जार ६ सय ६६ मेट्रिक टन धान उत्पादन भएको कृषि विकास निर्देशनालय विराटनगरले जनाएको छ । गत वर्ष भन्दा १३.८० प्रतिशतले उत्पादनमा वृद्धि भएको एक नम्बर प्रदेश कृषि निर्देशनालय विराटनगरका अधिकृत हृदयराम पोख्रेलले बताए ।