सङ्खुवासभा : आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सङ्खुवासभा जिल्लाबाट प्रशिक्षकविहीन अवस्थामा खेलाडी छनोट कार्य सकिएको छ ।

जिल्ला खेलकुद विकास समिति सङ्खुवासभाको आयोजनामा जिल्लालाई तोकिएर आएको १४ वटा खेल विधाको छनोट सकिएको हो । जिल्लामा छनोट कार्य त सकियो तर, विडम्बना छनोटका लागि सहभागी अधिकांश खेलका प्रशिक्षक छैनन् ।
प्रतियोगिताका लागि मात्र सक्रिय हुने खेलकुद सङ्घ यतिबेला खेलाडी खोज्ने र सीमित खेलाडीबाट जिल्लाको प्रतिनिधित्व गराउने कार्यमा तल्लीन छन् । सोही क्रममा १४ मध्ये १० वटा खेलका खेलाडी छनोट भइसकेका छन् ।

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रदेश छनोटमा फुटबल, भलिबल, एथ्लेटिक्स, ब्याडमिन्टन, टेबलटेनिस, कराते, उसु, तेक्वान्दो, बुद्धिचाल, सेपाकटेक्रो, बक्सिङ, पौडी, प्याराग्लाइडिङ र कपर्दीका लागि सङ्खुवासभाका १ सय ६५ जना खेलाडी सहभागी हुँदैछन् ।

ती खेलमध्ये एथ्लेटिक्समा महेश्वर बज्राचार्यले करार सेवामा रहेर प्रशिक्षण गरिरहेका छन् भने तेक्वान्दोमा २ महिने काजमा कर्ण दहाल प्रशिक्षक रहेका छन् । कराते खेलको प्रशिक्षकमा काजमा अमर सुवेदी र फुटबलमा करार सेवामा आएका दीपक चौहानले प्रशिक्षण दिइरहेका छन् । त्यस बाहेक अन्य १० खेलमा न त प्रशिक्षक नै छन् न त राम्रो कभर्ड हल नै छ । खेलाडीहरुले स्वअभ्यासको भरमा प्रतियोगितामा सहभागिता जनाउने जिल्ला खेलकुद विकास समिति सङ्खुवासभाका कार्यालय प्रमुख टीका गौलीले बताए ।

जिल्लामा प्रशिक्षणविहीन अवस्थामा रहेको जिल्ला ब्याडमिन्टन सङ्घले आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रदेश छनोटमा पुरुष ३ जना र महिला २ जना छनोट गरेको छ । सोही अवस्थाको टेबलटेनिस सङ्घले पनि पुरुष महिला २ ÷ २ जना, उसुतर्फ पुरुष १० र महिला ८ जना खेलाडी चयन गरेको छ । त्यस्तै, बुद्धिचालमा पुरुष ३ र महिला २ जना, सेपाकटेक्रोमा पुरुष र महिला ५÷ ५ जना छनोट गरेको छ ।

त्यस्तै, प्रशिक्षकविहीन अवस्थामा रहेको बक्सिङमा पुरुष ३ जना, पौडीमा पुरुष २ जना, प्याराग्लाइडिङमा पुरुष १ जना, कपर्दीमा पुरुष र महिला १०÷१० जना तथा भलिबलमा पुरुष र महिला १६ ÷१६ जना छनोट गरेको गौलीले बताए ।

उनका अनुसार फुटबल, तेक्वान्दो, कराते र एथ्लेटिकबाहेक जिल्ला खेलकुद विकास समिति आवद्ध भएका कुनै पनि खेलमा अहिले पनि प्रशिक्षक उपलब्ध गराइएको छैन । ती खेलमा अगुवा खेलाडीले स्वयंसेवक प्रशिक्षकको रूपमा प्रशिक्षण दिँदै आएका छन् ।
गौलीले भने, ‘केही खेलमा प्रशिक्षकलाई राष्ट्रिय खेलकुद परिषद्ले जिल्लामा पठाए पनि चिठी मात्रै आयो मान्छे आएनन् ।’
जिल्लामा लोकप्रिय र सर्वाधिक प्रतियोगिता भइरहने खेल फुटबलले भर्खरै मात्रै करारमा भए पनि प्रशिक्षक पाएको छ । भलिबलले अहिलेसम्म प्रशिक्षक पाएको छैन । पटकपटक माग गर्दा पनि केन्द्रले प्रशिक्षक नपठाएको जिल्ला भलिबल सङ्घका अध्यक्ष मेदिनी घिमिरेले बताए ।

‘न त प्रशिक्षक नै पठाउँछन् न त क्षेत्र र केन्द्रस्तरको प्रशिक्षणमा यहाँका युवा प्रतिभावान खेलाडीलाई मौका नै दिन्छन्’, उनले तिक्तता पोखे । घिमिरेले पूर्वका जिल्लामा आलोपालो प्रणालीले कम्तीमा २ महिना जिल्ला प्रशिक्षक बस्ने वातावरण मिलाउन केन्द्रलाई आग्रह गर्दा पनि सुनुवाइ नभएको गुनासो गरे ।

आधिकारिक प्रशिक्षकद्वारा नियमित प्रशिक्षण र अभ्यास गराउन नसक्दा खेल क्षेत्रले अपेक्षित उपलब्धि हासिल गर्न नसकेको खेलकुद विकास समिति सङ्खुवासभाका अध्यक्ष भरतकुमार घिमिरे बताउँछन् । स्थानीय खेलाडीलाई जिम्मेवारी दिन सके मात्र दिगो हुने अध्यक्ष घिमिरेको भनाइ छ । ‘यहाँ पनि क्षमता र योग्यता पुगेका खेलाडी छन् । यिनैलाई आवश्यक तालीम दिएर काम लगाउन सके स्थायी हुन्छ’, उनले भने । यसलाई केन्द्रले गम्भीर रूपमा लिनुपर्ने उनले बताए ।