उदयपुर : उदयपुर जिल्लाको मैनामैनीमा भैरहेको पर्यटन महोत्सवमा भक्तकुमार राई उर्फ स्वघोषित गडएञ्जल आउने भएपछि “प्रथम मैनामैनी महोत्सव” भाँडिएको छ । भक्तकुमार आउने कुरा भएपछि अतिथिहरु ‘प्रथम मैनामैनी पर्यटन महोत्सव’ स्थल नपुगीकनै फर्किएपछि महोत्सव भाँडिएको हो ।

महोत्सवको उद्घाटनमा स्थानीय व्यक्तिभन्दा झापा र मोरङबाट गाडीमा ओसारिएका भक्त कुमार राईको अनुयायीहरुको उलेख्य उपस्थिति थियो । बेलका नगरपालिका ७ वडा कार्यालय आयोजक रहेको कार्यक्रममा स्थानीय व्यक्तिहरु भन्दा झापा र मोरङका भक्तकुमारका अनुयायीहरुको खटन-पटन भएपछि भक्तकुमारका सो ठाउँका स्थानीय अनुयायीहरुले समेत महोत्सव बहिस्कार गरेका थिए । झापा र मोरङबाट मात्रै १ सय भन्दा बढी गाडीहरुले भकुराको अनुयायीहरु महोत्सव स्थलमा ओसारेका थिए ।

भकुराले आफूलाई आफैँले ‘बाल तपस्वी सत्य महागुरु’ घोषित गरेर झूठो प्रचार गर्दै प्रवचन गर्दै हिँड्न थालेदेखि भकुरा घर आएको रेकर्ड भेटिदैन । मैनामैनीकै स्थानीय प्राथमिक विद्यालयमा ६ कक्षासम्म पढेर गुरुङचौरी निमावि विद्यालयमा कक्षा ७ सम्म र रामपुर विद्यालयमा ८ कक्षासम्म मात्र अध्ययन गरेका थिए । तर, प्रचारमा आफैँले ‘७ वर्षको उमेरमा जंगल पसेर तपस्या गरेको, ११ वर्षको उमेरमा एक्लै सगरमाथा आरोहण गरेर तपस्या गरेको, तिब्बत र भूटानको गुम्बामा बसेको’ जस्ता कपोल कल्पित र भ्रामक प्रचार गर्न थालेपछि भकुरालाई स्थानीय छिमेकीहरुले ‘ठग’को संज्ञा दिएका थिए । पछि भकुरा आफैँले आफूलाई ‘सुप्रिम मास्टर गड एन्जल’ घोषित गरेका थिए ।

किराती संस्कार, संस्कृतिको विरोध गर्दै आफ्नो अर्ध क्रिस्टियन दर्शनको प्रचार गर्दै हिँडेपछि किरात सांस्कृतिक अभियन्ताहरु भकुरा विरुद्ध एक भएर उभिएपछि उनको भण्डाफोर भएको थियो । विभिन्न प्रभावशाली राजनीतिक व्यक्तित्वहरुसँग फोटो खिचाएर ‘उहाँ पनि मेरो चेला हो’ भन्दै फोटो देखाएर प्रचार गर्न सिपालु भकुराले यसपाली भने ‘मैनामैनी पर्यटन महोत्सव’को नाममा प्रवेश गरेर प्रदेश नं. १ का मुख्यमन्त्रीको हातबाट अभिनन्दन गराई माग्ने धुर्त चालका साथ योजना बनाएर आएका थिए । तर अतिथिहरु चतारासम्म आई पुग्दा भकुराको फोटो र झण्डा सहितको व्यानरहरु यत्रतत्र देखेपछि अथितिहरु चताराबाटै फर्किएका थिए ।

पर्यटन महोत्सव नाम दिए पनि भकुराको प्रायोजनमा कार्यक्रम भैरहेको र भकुराको समेत उपस्थिति रहने कुरा बुझेपछि कार्यक्रममा बोलाइएका राजेश पायल राई, विल्सन विक्रम राई, मेलिना राई लगायतका राष्ट्रिय कलाकारहरुले कार्यक्रममा नजाने निर्णय गरेका थिए । राष्ट्रिय कलाकारहरुको प्रस्तुति हेर्न भेला भएका स्थानीयहरुले कलाकारहरु नआएसँगै भकुराको अर्ध क्रिस्टियन प्रवचन सुरु भए पछि ‘भक्तेले फेरि पनि ठगेको’ चर्चा गर्दै महोत्सव स्थाल छाडेका थिए ।

हेभेन्लि पाथ नामको संस्था खोलेर चन्दा संकलन गर्दै अकुत सम्पत्ति आर्जन गरेको भकुराले आफ्नो ठगी धन्दाको पर्दाफास हुँदै गर्दा नेपाली नागरिकता त्यागेर क्यानेडियन नागरिकता लिएको भकुरा अहिले क्यानेडियन पासपोर्टमा भिषा लगाएर झापा र भारतको पश्चिम बंगाल क्षेत्रमा लुक्दै बसिरहेका छन् ।

पुस्तक निकालेको विषयमा पत्रकार भद्रगोल किरातीलाई मुद्दा हालेपछि सोही मुद्दाको क्रममा भद्रगोल किरातीको तर्फबाट लागेका विभिन्न मुद्दाहरुबाट बच्न, काठमाण्डौँमा भने हेभेन्लि पाथको सबै कार्यालयहरु बन्द गरेर फर्निचरहरु कुमारीपाटी स्थित एक अनुयायीको घरमा थुपारेर राखेका छन् । त्यस्तै गैर कानूनी कामहरु गरेकै कारण भकुरालाई सिक्किममा समेत ‘प्रवेश निषेधाज्ञा’ जारी भएको छ, भने दार्जि्लिङमा सामाजिक वहिस्कार गरिएको थियो । दार्जि्लिङमा भकुराकै निर्देशनमा फलामसिं चाम्लिङको निर्ममता पूर्वक हत्या भएको थियो । सो मुद्दा अझै पनि विचारधिन छ ।

प्रदेश नं. १ का मुख्यमन्त्रीको प्रेस सल्लाहकार ध्रुव सुवेदीले ‘प्रथम मैनामैनी पर्यटन महोत्सव’मा मुख्यमन्त्रीको जाने कार्यक्रम नभएको बताएका छन् । टेलिफोन मार्फत सम्पर्क गर्दा प्रेस संयोजक सुवेदीले मुख्यमन्त्रीको अगाडिनै भोजपुर र काठमाण्डौंमा कार्यक्रम तय भैसकेकाले महोत्सवमा जाने कुनै कार्यक्रम नभएको बताए । सुवेदीले यसो भनिरहँदा ‘प्रथम मैनामैनी पर्यटन महोत्सव’को व्यानरमा मुख्यमन्त्रीको समेत फोटो राखेर भव्य प्रचार गरिएको छ । यत्तिमात्र होइन स्थानीय रेडियोमा महोत्सवको विज्ञापन समेत बजाइएको छ । सो विज्ञापनमा मुख्यमन्त्रीको हातबाट महोत्सवको उद्घाटन हुने बताइएको थियो ।