काठमाडौं – एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-२० को पहिलो क्वालिफायर खेलमा आज ललितपुर प्याट्रीयट्स र काठमाडौं किग्स इलाभेनबीच प्रतिस्पर्ध हुँदैछ ।

दिउँसो एक बजेबाट टीयू क्रिकेट मैदानमा सुरु हुने खेलमा ललितपुरको कप्तानी ज्ञानेन्द्र मल्लले गर्नेछन् भने रोहन मुस्तफाको नेतृत्वमा काठमाडौं मैदान उत्रनेछ । समुह चरणको खेलमा ललितपुरले काठमाडौंलाई १० विकेटको फराकिलो अन्तरले पराजित गरेको थियो । उक्त खेलमा मुस्तफा र सोमपालको अनुपस्थितिमा काठमाडौंको कप्तानी केभीन ओ ब्राएनले सम्हालेका थिए । त्यसैले आजको खेलमा काठमाडौं समुह चरणको हारको बदला लिन चाहन्छ भने बलियो मनोबलमा रहेको ललितपुर समुह चरणको नतिजा पुन आत्मासात गर्न चाहन्छ । आजको विजेता टोली सोझै फाइनलमा प्रवेश गर्नेछ । पराजित हुने टोली भैरहवा र चितवनबीचको एलिनेमिटर खेलमा विजेतासँग पुन अर्को क्वालिफायर खेल खेल्ने छ ।

समूह चरणमा कसको प्रर्दशन कस्तो ?

पहिलो खेलमा विराटनगरसँग ३ विकेटले पराजित भएको ललितपुर त्यसयता लगातार चार खेलमा जित निकाल्दै शीर्षस्थानमा रहेर क्वालिफायर खेल्न लागेको हो । दोस्रो खेलमा चितवन टाइगर्सलाई ११ रनले पराजित गर्दा ललितपुरले तेस्रो खेलमा पोखरा राइनोजलाई ८विकेट र चौथो खेलमा काठमाडौंलाई १० विकेटको फराकिलो अन्तरले पराजित गर्यो । त्यस्तै पाँचौ खेलमा भैरहवालाई ६ विकेटले पराजित गरेपछि शीर्षस्थानमा रहेर क्वालिफायर खेलेको हो । ललितपुरका तीनै विदेशी खेलाडी गौरव तोमर, जयकिशन कोल्सावाला र सन्नी पटेलले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । कप्तान ज्ञानेन्द मल्ल, राशिद खान र ललितनारायण राजवंशी पनि ललितपुरका महत्त्वपूर्ण खेलाडी हुन् ।

काठमाडौंले पहिलो खेलमा चितवनलाई ६ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको थियो । दोस्रो खेलमा भने ललितपुरसँग १० विकेटले पराजित हुन पुग्यो । तेस्रो खेलमा पोखरालाई ५ र चौथो खेलमा भैरहवा ग्ल्याडीयटर्सलाई ७ विकेटले पराजित गर्दै एक खेल अगाडीनै प्ले अफमा काठमाडौंले स्थान बनायो ।

त्यस्तै पाँचौ खेलमा विराटनगर वारीयर्सलाई ५ विकेटले पराजित गर्दै काठमाडौं दोस्रो स्थानमा रहेर क्वालिफायरमा ललितपुरसँगको भेट पक्का गरेको हो । यूएईका कप्तान रोहन मुस्तफा, आयरल्यान्डका अलराउण्डर केभिन ओ ब्राइन, भारतीय प्रदीप साहु, आनन्द सुब्रमनियम र अमित श्रेष्ठ काठमाडौंका मुख्य खेलाडी हुन् । सोमपाल कामी घाईते भएको कारण संभवत आजको खेल पनि खेल्ने छैनन् । पहिलो खेलमा उनको गोलिगाँठामा चोट लागेको थियो ।