तेह्रथुम: तेह्रथुमको लालीगुराँस नगरपालिकाले नगर क्षेत्रका विद्यालयमा रिक्त रहेका शिक्षक दरबन्दी पुर्ति गर्न आव्हान गरेको विज्ञापन बमोजिम आवेदन नलिने भएको छ ।
उच्च अदालतको धनकुटाले तत्काल विज्ञापन बमोजिम आवेदन नलिन अन्तरिम आदेश जारी गरेपछि नगरपालिकाले आवेदन नलिने भएको हो ।

अदालतको आदेश बमोजिम नगरपालिकाले यसअघि प्रकाशित उक्त विज्ञापन बमोजिम शिक्षकका लागि आवेदन नलिने जनाएको छ । संघीय शिक्षा ऐन विपरीत स्थानीय सरकारले शिक्षा ऐन निर्माण गरी शिक्षक नियुक्ति गर्न लागेको भन्दै स्थानीय बसन्त माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्रबहादुर थापा सहितले रिट दायर गरेपछि अदालतले नगरपालिकालाई शिक्षक आवेदन नलिन आदेश गरेको नगरपालिकाका निमित्त प्रमुख प्रशाकीय प्रमुख कृष्णप्रसाद घिमिरेले जानकारी दिए ।

नगर शिक्षा समितिले गत मंसिर १८ गते रिक्त रहेका दरबन्दीमा पदपुर्ति गरी शिक्षा पाउनुपर्ने बालबालिकाको अधिकार पुरा गर्नुपर्ने भन्दै करार शिक्षक नियुक्तिका लागि सूचना प्रकाशित गरेको थियो । नगरपालिकाले विद्यार्थीहरुको पठनपाठनमा सहयोग पु¥याउने ध्येयले शिक्षक नियुक्त गर्ने प्रक्रिया अघि बढाएको नगर प्रमुख अर्जुन माबोहाङले बताए । तर ऐन विपरीत भन्दै उजुरी परेपछि अर्को सूचना जारी नहुन्जेल शिक्षक नियुक्ति रोकिएको छ ।

नगर क्षेत्रका विद्यालयहरुमा अहिले २८ वटा दरबन्दी खाली रहेका छन् । नयाँ संविधान बमोजिम संघ र प्रदेशमा पनि शिक्षा सम्बन्धी ऐन बनेका छैनन् । जसका कारण शिक्षक नियुक्ति रोकिएको छ । नगर क्षेत्रका १६ वटा विद्यालयका १२ वटा प्रावि दरबन्दी, २ वटा निमावि दरबन्दी, ३ वटा मावि दरबन्दी, ३ वटा राहत र ४ वटा प्राविधिक धार तर्फका शिक्षकहरुको दरबन्दी रिक्त रहेको छ । यस्तै ४ जना सहयोगी कर्मचारीको समेत दरबन्दी रिक्त रहेको छ । लालीगुराँस नगरपालिकामा ३२ वटा सामुदायिक विद्यालयहरु रहेका छन्