तेह्रथुम : पाँचथरको सुख्खाग्रस्त क्षेत्र कुम्मायक गाउँपालिका–४, रानीगाउँमा डिप बोरिङ प्रविधिबाट खानेपानी निकालिएको छ । गाउँबासीलाई पिउने पानीको हाहाकार भएपछि १ नम्बर प्रदेश सरकारले रानीगाउँको उत्तिसे मानाकेङ्बामा जमिन मुनिबाट पानी निकालेर वितरण गर्न लागेको हो ।

खानेपानीको समस्या सुल्झाउन यसअघि नै निर्माण थालिएको तमोर लिफ्ट खानेपानी आयोजनाको निर्माणमा ढिलाई भएपछि तत्कालका लागि डिप बोरिङबाट पानी निकालेर वितरणको प्रयास थालिएको कुम्मायक गाउँपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङले बताए । गाउँपालिकाका तीन स्थानमा डिप बोरिङका लागि प्रदेश सरकारले १ करोड रुपैयाँ विनियोजन गरेको छ । बाँकी रकम गाउँपालिकाले नै लगानी गरी गाउँबासीलाई पानीको सुविधा गराउने उदेश्य रहेको अध्यक्ष चेम्जोङले बताए ।

उनका अनुसार ड्रिलिङ कम्पनीसँग २८ लाख रुपैयाँमा एउटा डिप बोरिङ गर्ने सम्झौता भएको छ । गाउँपालिकाको उत्तिसेमा डिप बोरिङ गरी पानी निकालिएको छ भने दुम्से र काफ्लेपानीमा पनि बोरिङ गरेर पानी निकालिने गाउँपालिकाले जनाएको छ । पिउने पानीको हाहाकार भएपछि कुम्मायक गाउँपालिकाले दुई वटा ट्यांकर र एउटा टयाक्टरबाट पानी ढुवानी गरी वितरण गर्दै आएको छ ।