इटहरी: सरकारले अध्यादेश मार्फत ल्याएको कर्मचारी समायोजन ऐन २०७५मा स्थानीय तहका कर्मचारीहरुलाई विभेद गरिएको भन्दै सुनसरीको इटहरी उपमहानगरपालिकाका कर्मचारीहरुले विरोध जनाउदै धर्ना दिएका छन ।

अध्यादेश मार्फत ल्याइएको समायोजन विधयकले आफुहरुलाई विभेद गरेको भन्दै स्थानीय तह अन्र्तगतका इटहरी उपमहानगरपालिका कर्मचारीहरु आन्दोलना छन् । अध्यादेशमार्फत ल्याएको ऐनले पेशागत स्थायित्व र कर्मचारी समायोजनको लागि सबै सेवा बीचमा समान व्यावहार नगरेको भन्दै स्थानीय तहका कर्मचारीहरुले देशव्यापी रुपमा विरोध जनाउदै आएका छन् । स्थानीय तहका कर्मचारीहरुको पहिलो चरणको संघर्ष अन्तरगत इटहरीका कर्मचारीहरुले उपमहानगरपालिकामा धर्ना दिएका हुन । कर्मचारीहरुको धर्नाका कारण कामकाजमा समस्या भएको भन्दै कामका लागि आएका सेवाग्राहीहरु रुष्ट बनेका छन् ।

नेपाल नगरपालिका कर्मचारी एसोसियसनका केन्द्रीय उपाध्यक्ष महेश सुवेदीले आफुहरुको पेशागत जीवनको सुरक्षा नै हुन नसके पछि बाध्य भएर आन्दोलन गर्नु परेको बताए । सरकारले निजामती कर्मचारीलाई स्थानीय तहमा समायोजन गर्ने क्रममा स्थानीय तहका कर्मचारीलाई विभेद गर्न लागेको आन्दोलनरत् कर्मचारीको भनाइ छ । जिल्ला विकास समिति, नगरपालिका तथा गाउँ विकास समितिले स्थानीय स्वायत्त शासन ऐन अनुसार भर्ना गरेका कर्मचारीलाई समेत समायोजनमा सहभागी गर्नु पर्ने, स्थानीय स्वायत्त शासन ऐन अन्र्तगत अस्थायी र करारमा रहेका कर्मचारीहरुलाई स्थायी गरिनु पर्ने लगायतका माग राख्दै स्थानीय तहका कर्मचारीहरुले चरणवद्ध आन्दोलन गरिरहेका छन् ।