धरान: गोरु काटेको अभियोगमा पक्राउ परेका १० जना जिल्ला अदालत सुनसरीको आदेश अनुदार धरौटीमा राखेर मंगलबार छुटेका छन् ।

जिल्ला अदालत सुनसरीका न्यायाधिश मणीराम न्यौपानको एकल इजालशले जनही ५० हजार धरौटीमा छोड्न आदेश दिएपछि सबैले धरौटी राखेर तोखमा छुटेका हुन् । गोरु काटेको अभियोगमा पक्राउ परेकाहरुको तर्फबाट बहस गरेका वकिल पदम इस्पोका अनुसार अदालतले जनही ५० हजार धरौटीमा छोड्न आदेश दिएको थियो । ‘जनही ५० हजार धरौटीमा छोड्न आदेश भएको थियो, त्यसैवमोजिम सबैले धरौटी राखेर तारेखमा छुटेका छन्,’वकिल इस्पोले भने ।

प्रहरीले मंसिर २८ गते बिहान धरान १७ स्थित विद्या टोलबाट गोरुको मासु काटिरहेको अवस्थामा १० जनालाई पक्राउ गरेको थियो । प्रहरीले आशिक मन्सुरी, हसमुदिन मन्सुरी, बहिश मिया, रिजमान मिया, साहदत मन्सुरी, आशिष खड्गी, राजेश खड्गी, अनिल शाही, अनिश साही र राजेन्द्र खड्गी पक्राउ परेकय थिए । प्रहरीले उनीहरुसँगै गोरु काट्न प्रयोग भएको खुकुरी, चक्कु ७ थान र गाइगोरुजस्तो देखिने सिंग भएको टाउको २ थानसहित उनीहरुलाई सार्वजनिक गरेको थियो ।

गोरु काटेको अभियोगमा उनीहरु पक्राउ परेपछि विवाद चर्किएको थियो । एक पक्षले धर्मनिरपेक्ष देशमा संविधानको मर्मविपरीत पक्राउ परेको भन्दै चर्को विरोध पनि उठेको थियो । संघीय लिम्बूवान मञ्चले सोमबार धरानमा विरोध र्यालीसमेत निकालेको थियो । धरौटीमा छुटेकाहरुलाई बुधबार मंगलबारे चोकमा सम्मान गरिने मञ्चका जिल्ला अध्यक्ष अमर इजमले जानकारी दिए ।