विराटनगर: विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिना अवधिमा १६ अर्ब बढी राजश्व संकलन गरेको छ ।

कार्यालयले यो समयमा लक्ष्य लिएको भन्दा बढी राजश्व संकलन गरेको हो । कार्यालयले ५ महिनाको अवधिमा १६ अर्ब ४० करोड ५२ लाख १८ हजार राजश्व सङ्कलन गरेको जानकारी दिएको हो । यो अवधिमा १६ अर्ब १६ करोड २१ लाख ३० हजार राजश्व असुल गर्ने लक्ष्य लिएको थियो । यो समयमा २४ करोड ३० लाख ८८ हजार बढी राजश्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७४/७५ मा सो अवधिमा ११ अर्ब ३२ करोड ३२ लाख ४९ हजार राजश्व असुली भएको थियो । यो वर्ष ४४.८८ प्रतिशत राजश्व बढी उठेको कार्यालयका प्रमुख मिमांश अधिकारीले जानकारी दिए । राजश्व चुहावट हुन नदिन विशेष सतर्कता अपनाएको र भन्सार जाँचलाई पनि कडाइ गरेकाले राजश्वमा उल्लेखनीय वृद्धि भएको उनले बताए । सङ्कलित राजश्वमा साउनमा २ अर्ब ९९ करोड ७५ लाख ३६ हजार भएको थियो भने भदौमा ३ अर्ब सात करोड ९० लाख नौ हजार राजश्व संकलन भएको थियो । यसैगरी, असोजमा ३ अर्ब ९७ करोड ६४ लाख ५० हजार, कात्तिकमा ३ अर्ब १५ करोड ८२ लाख ७० हजार र मङ्सिरमा ३ अर्ब १९ करोड ३९ लाख ५३ हजार राजश्व संकलन गरेको थियो ।

विराटनगर भन्सारका अनुसार चालु आर्थिक वर्षको पाँच महिनामा ६८ अर्ब २० करोड ७९ लाख ७४ हजारको सामान पैठारी र ८ अर्ब १९ करोड ६१ लाख ७९ हजारको सामान निकासी भएको छ । सो अवधिमा गएको वर्षमा ५२ अर्ब ४५ करोड तीन लाख सामान पैठारी र ९ अर्ब छ करोड ९८ लाख ३६ हजारको मालसामान निकासी भएको थियो । तुलनात्मक आधारमा गएको वर्ष भन्दा यसवर्ष सो अवधिमा पैठारी १५ अर्ब ७५ करोड ७६ लाख ७४ हजारले बढी हो भने निकासीमा ८७ करोड ३६ लाख ५७ हजारले कम भएको देखिएको छ ।

विराटनगर भन्सारबाट भारत तथा समुद्रपार निकासी हुने सामानमा सेन्थेटिक यार्न, बोरा झोला, जुटका बुनिएका कपडा, अलँैची, अन्य रेशाको कपडा, खजुरको प्रशोधित तेल, जीआइवायर, कोरुगोरेटेड सीट, जस्तापाता, कपर सीट र पिना छन् । भारत तथा समुद्रपारबाट विराटनगर भन्सारबाट नेपाल पैठारी भएको सामानमा पेट्रोलियम पदार्थ, एमएस विलेट, पोलीथित दाना, स्टिल वायर रड इन क्वायल र एमएससम्म, सेन्थेटिक यार्न, सिआर सीट, एलपी ग्यास, तयारी कपडा, एच आर सीट र खाद्यान्न मकै छन् ।