धरान: गोरु काटेको आरोपमा पक्राउ गरेकाहरु सुनसरी जिल्ला अदालतको आदेशबाट धरौटी राखेर तारेखमा रिहा भएपछि बुधबार धरानमा सम्मान गरिएको छ ।

सांस्कृतिक अधिकार संरक्षण समितिले धरान ११ स्थित मंगलबारे चोकमा एक कार्यक्रम गरी धरौटी बुझाएर रिहा भएका १० जनालाई सम्मान गरेको हो । मंसिर २८ गते पक्राउ परेकाहरुलाई मंगलबार जिल्ला अदालतले जनही ५० हजार धरौटी राखेर तारेखमा रिहा गर्न आदेश दिएको थियो । सम्मान कार्यक्रममा आदिवासी जनजाति सम्बद्ध विभिन्न संस्था तथा राजनीतिक दलका नेताहरुको पनि उपस्थिति रहेको थियो ।

सम्मान कार्यक्रममा सांस्कृतिक अधिकारका अभियन्ता जनकऋषि राईले संविधानमार्फत देश ‘धर्म निरपेक्ष राज्य’ घोषणा भइसकेकोले गोरुको मासु खान पाउने र काट्न पाउने अधिकार पनि रहेको जिकिर रे । बजारभरी बट्टामा पाइने ‘विफ’(गाईको मासु)ले नेपालको अर्थतन्त्र धरापमा परेको भन्दै उनले गोरुको मासुले अर्थतन्त्रलाई टेवा दिने भएकोले व्यवसायीकरण गर्नुपर्ने बताए ।

मंगोल नेशनल अर्गनाइजेशनका विद्यार्थी नेता अडिल खम्बूले संस्कृतिलाई प्रहार गर्न गोरुलाई माध्यम बनाएको आरोप लगाए । संघीय लिम्बुवान मञ्चका जिल्ला अध्यक्ष अमर इजमले संविधान र ऐन बाझिएकोले संविधानसँग बाझिएका ऐनहरु खारेज गर्न माग गरे । सम्मान कार्यक्रम समितिका अध्यक्ष सुवास हुक्पा चोङबाङको अध्यक्षामा भएको थियो ।