तेह्रथुम:तेह्रथुममा जारी भगिमानसिंह स्मृति आमन्त्रण फुटबल प्रतियोगिता अन्तर्गत सुनसरीलाई हराउँदै झापा क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

म्याङलुङ नगरपालिका–२ स्थित मैदानमा भएको खेलमा झापाले सुनसरीलाई ट्राइवेकरमा ५–३ गोलले पराजित गरेको हो । जितसँगै झापा प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । खेलको निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल ट्राइवेकरमा धकेलिएको थियो । ट्राइवेकरमा झापाकालागि सुरज कार्की, सन्जित राई, शक्ति राई, नानी लिम्बु र गणेश हेन्जनले गोल गरे । सुनसरीका लागि रमेश राजवंशी, उमेश राई र सुशान्त तामाङले गोल गरे । सुनसरीका मनिष राईको प्रहार गोल हुन नसक्दा झापा अघिल्लो चरणमा प्रवेश ग¥यो । प्रतियोगितामा विहीबार क्वाटरफाइनल चरणका दुई खेल हुँदैछन् । विहान ११ बजे संखुवासभा र उदयपुर तथा २ बजे झापा र धनकुटाबीच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रदेश नं. १ का १० जिल्लाका एक–एक टिम सहभागी छन् । प्रतियोगिताको विजेतालाई नगद २ लाख ५ हजार र उपविजेतालाई नगद १ लाख १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ । नकआउटका आधारमा सन्चालन हुने प्रतियोगिता पौष ७ गतेसम्म सन्चालन हुनेछ । प्रतियोगिता सन्चालनकालागि २८ लाख रुपैयाँ बढी खर्च हुने आयोजकले जनाएको छ ।