धरान: अग्रेजी नयाँ वर्षको अवसरमा पर्यटकीय क्षेत्र भेडेटारमा तीन दिने ‘सातौ भेडेटार फुड फेष्टिवल’ हुने भएको छ ।

धनकुटाको सागुरीगढी गाउँपालिका वडा नं. ६ मा पर्ने भेडेटारमा पुष १६ देखि १८ गतेसम्म फुड फेष्टिवलको तयारी शुरु भएको हो । होटल एसोसिशयसन अफ भेडेटारले बुधबार पत्रकार सम्मेलन गर्दै बिशेष गरी अंग्रेजी नयाँ बर्ष मनाउने भारतीय पर्यटकहरुलाई लक्षित गरेर फेस्टिवल आयोजना गर्न लागेको जानकारी दिएको हो । एशोसिएशनका अध्यक्ष जितेन्द्र रुम्दालीका अनुसार फेस्टिवलमा करिब ३० वटा स्टलहरु राखिनेछ । ती स्टलहरुमा विभिन्न जातीय परिकारहरुसँगै कृर्षि, घरेलु उत्पादन, हस्तकलाका सामानहरु राखिने पनि उनले बताए । ‘स्टलमा मौलिक खानाका परिकार तथा स्थानीयस्तरमा उत्पादित कृषि तथा घरेलु उत्पादनका सामानहरु राखिन्छ,’अध्यक्ष रुम्दालीले भने ।

फेस्टिवल अवधिभर प्रत्येक दिन राई, लिम्बू, मगर, नेवारलगायतका जातिको मौलिक झाँकी तथा साँस्कृतिक, सांगीतिक कार्यक्रहरु पनि आयोजना हुनेछ । फेस्टिवल अवधिमा १ करोड बराबरको आर्थिक कारोबार गर्ने लक्ष्य राखेको भेडेटारका होटल व्यवसायी एवं पर्यटनकर्मीहरुको भनाई छ । ‘अहिले हाम्रो लागि अफ सिजन हो, ३ दिनमा आउने भारतीय पर्यटकहरुको कारण यो समयमा एक महिनालाई धान्ने गरी आर्थिक कारोबार हुन्छ,’अध्यक्ष रुम्दालीले भने,‘न्यु इयर मनाउन भेडेटार जाने भनेर भारतीय पर्यटकहरुको क्यालेण्डरमा नै हुन्छ, यो हाम्रो लागि ठुलो उपलब्धी हो ।’

DSC_9539 copy

आयोजक संस्थाका अनुसार अंग्रेजी नयाँ बर्ष मनाउन आउने पर्यटकहरुमा ९० प्रतिशत भारतीय हुन्छन् । विगतका बर्षहरुको तथ्यांक अनुसार फेस्टिवल अवधिभर कम्तीमा दैनिक ५ हजारको दरले भारतीय पर्यटकहरु भेडेटार आउने गरेका छन् । सिएनएनले विश्वको घुम्नै पर्ने १२ वटा गन्तव्य मध्ये नाम्जेलाई ८ औं मा समावेश गरेपछि भेडेटार, नाम्जेको चर्चा विश्वभर चुलिएको थियो । अचेल पुर्वमा आन्तरिक तथा बाह्य पर्यटकको विशेष रोजाइमा साँगुरीगढी गाउँपालिकामा पर्ने भेडेटार, नाम्जे, नमस्ते झरनालगायत पर्न थालेको छ ।

अंग्रेजी नयाँ बर्षमा भारतको विहार, पश्चिम वंगलबाट पर्यटकहरु आउने गरेका छन् । आयोजकका अनुसार तीन दिने फेस्टिवलको लागि अहिलेदेखि नै होटलहरु बुक हुन थालिसकेको छ । निरन्तर फेस्टिवल आयोजना गर्दा बाह्य पर्यटकहरुको रोजाईमा भेडेटार पर्न थालेको र उच्च विदेशी व्यक्तिहरु पनि आउन थालेको संस्थापक अध्यक्ष एवं होलट अरुण भ्यालीका सञ्चालक विष्णु श्रेष्ठले बताए ।

भेडेटारमा पार्किङको समस्या

भेडेटार, नाम्जेमा पर्यटक आफ्ना निजी तथा भाडाको सवारीसाधनसहित पुग्ने गर्छन् । फेस्टिवलको समयमा त झनै ठुलो जमघट हुने गर्छ । पर्यटकीय क्षेत्र भेडेटार र आसपासमा पाहुना पर्यटक र स्थानीय पर्यटनकर्मीहरुलाई ती सवारीसाधनलाई कहाँ पार्र्किङ गरेर राख्ने भन्ने ठुलो समस्या भएको छ । ‘भेडेटारमा पार्किङ अभाव ठुलो समस्या छ, झन् फेस्टिवलको बेला सवारीसाधन धेरै हुन्छ,’एशोसिएशनका निर्वतमान अध्यक्ष लिलाराज लावतीले भने,‘पार्किङको समस्याप्रति हामी चिन्तित छौ ।’

भेडेटार क्षेत्रमा खाली जग्गाहरु बर्षेनी घट्दै गइरहेको छ । बर्षमा ४, ५ वटा नयाँ घर एवं होटल थपिने क्रमले पार्किङस्थलको अभाव बढ्दै गएको छ । केही बर्षयता फेस्टिवलको लागि स्टल राख्ने ठाउँ पनि साँघुरिदै गएको अध्यक्ष रुम्दालीले बताए । वडा नं ६ का अध्यक्ष यमकुमार मगरले पर्यटन विकासको गुरुयोजना बनाउने काम भइरहेको र अबको ५ बर्षभित्र व्यवस्थित, सुविधा सम्पन्न पार्किङस्थल तयार हुने बताए । उनले कार्यपालिका बैठकले फेस्टिवललाई ३ लाख रुपैया बजेट विनियोजन गरिदिएको पनि जानकारी दिए ।

फेस्टिवलमा पर्यकटलाई बिशेष छुट

IMG_8096 copy

तीन दिने फेस्टिवलमा घुम्न आउने पर्यटकहरुलाई भेडेटार तथा नाम्जेका होटल व्यवसायीहरुले बिशेष छुट दिने बताएका छन् । एशोसिएशनमा आवद्ध व्यावसायीहरुले विगतमा जस्तै यो बर्ष पनि रुममा १५ प्रतिशत र खानामा १० प्रतिशत छुट दिइने अध्यक्ष रुम्दालीले बताए ।

मुख्य पर्यटकीय स्थलहरु

भेडेटार आफैमा चर्चित पर्यटकीयस्थल हो । विगतमा भेडेटार गाविस भएपनि अहिले विभिन्न गाविसहरु भागिएर राज्यको नयाँ संरचनाअनुसार साँगुरीगढी गाउँपालिका बनेको छ । फेस्टिवलमा शैलुङ डाडा (चाल्स भ्यू टावर), पाथीभरा देवी मन्दिर, शंखेश्वर मन्दिर÷भेडेटार पार्क, पिकनिक स्पट, नाम्जेको आत्मा घर, सुर्योदय बौद्ध पार्क थुम्की, नमस्ते झरना प्रमुख आकर्षण तथा पर्यटकीयस्थलहरु हुनेछ ।

यस्तै, ऐतिहासिक साँगुरी गढी, नाम्जे गाउँ होम स्टे, ओख्रे भ्यू टावर, डाँडा बजारस्थित ध्वजे डाडा, अजंगको बरको रुख, थाउजेन विग बुद्धलगायतलाई भेडेटारका पर्यटन व्यवसायीहरुले पर्यटकहरुको लागि गन्तव्यस्थल बनाएका छन् । ती ठाउँहरुमा पर्यटकहरुलाई पुर्याउन कम्तीमा २ रात बास बस्ने गरी प्याकेज पनि रहेको आयोजक एशोसिएनका अध्यक्ष रुम्दालीले बताए । आँकाश खुलेको बेला भेडेटार र डाँडाबजारस्थित ध्वजे डाँडाबाट मकालु, कञ्चनजंघा, कुम्भकर्ण हिमश्रृंखाल अवलोकन गर्न सकिन्छ ।