तेह्रथुम:तेह्रथुममा जारी भगिमानसिंह स्मृति आमन्त्रण फुटबल प्रतियोगिता अन्तर्गत फिदिम स्पोर्टिङ क्लब, पाँचथर र माइभ्याली फुटबल क्लब, इलाम सेमीफाइनलमा पुगेका छन् ।

एक–एक खेलमा जित हासिल गरेका यी दुई टिम क्वाटरफाइनल चरणका खेल नखेली लक्की ड्र मार्फत बाइमा पर्दै सिधै सेमीफाइनलमा पुगेका हुन् । पाँच टिम रहेको समुह ‘ए’ बाट मोरङलाई २–० ले पराजित गरेको पाँचथर सेमीफाइनलमा पुगेको हो । सो समुह अन्तर्गत तेह्रथुमसँग ३–२ ले विजयी संखुवासभा र उदयपुर विहीबार क्वाटर फाइनलमा खेल्दैछन् । यस्तै ५ टिम रहेको समुह ‘बी’बाट ताप्लेजुङलाई पराजित गरेको इलामले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

सो समुहबाट झापा र धनकुटा क्वाटरफाइनलमा विहीबार क्वाटरफाइनलमा खेल्दैछन् । झापाले बुधबार सुनसरीलाई ट्राइवेकरमा पराजित गरेको थियो । प्रतियोगिताको क्वाटरफाइनलका दुई खेलमा विहान ११ बजे संखुवासभा र उदयपुर तथा २ बजे झापा र धनकुटाबीच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रदेश नं. १ का १० जिल्लाका एक–एक टिम सहभागी थिए ।

प्रतियोगिताको विजेतालाई नगद २ लाख ५ हजार र उपविजेतालाई नगद १ लाख १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ । नकआउटका आधारमा सन्चालन हुने प्रतियोगिता पौष ७ गतेसम्म सन्चालन हुनेछ । प्रतियोगिता सन्चालनकालागि २८ लाख रुपैयाँ बढी खर्च हुने आयोजकले जनाएको छ ।