तेह्रथुम: आँखा रोगीहरुलाई लक्षित गरी तेह्रथुममा बुधबारबाट तीन दिने निःशुल्क आँखा शिविर शुरु भएको छ ।

नेपाल रेडक्रस सोसाइटी तेह्रथुम र आँखा उपचार केन्द्र तेह्रथुमको आयोजना तथा विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा सन्चालित शिविरको पहिलो दिन बुधबार २ सय ९४ जनाको आँखा परीक्षण तथा चेकजाँच भएको छ । शिविरमा २४ जनाको मोतियाविन्दुको अपरेसन भएको नेपाल रेडक्रस सोसाइटीका कार्यक्रम संयोजक पुर्ण श्रेष्ठले जानकारी दिए ।

शिविरको पहिलो दिन १ सय ७५ जना महिला र १ सय १९ जना पुरुषको आँखा परीक्षण भएको छ । शिविरमा आँखा अस्पताल विराटनगरका डाक्टर मनिष पाण्डे नेतृत्वको स्वास्थ्यकर्मीहरुको टोलीले आँखा जाँच, परामर्श, औषधी वितरण, चष्मा वितरण तथा अपरेसनको काम गरिरहेको छ । शिविरमा आउने विरामीहरुको सबै प्रकारका अपरेसन निःशुल्क गरिएको रेडक्रसले जनाएको छ ।

औषधी र चष्माको शुल्क भने विरामीेले तिर्नुपर्नेछ । शिविरको उद्घाटन समारोहमा प्रमुख जिल्ला अधिकारी लक्ष्मीेदेवी होमागाईले शिविरमार्फत जिल्लाबासीलाई प्रत्यक्ष फाइदा पुग्ने धारणा राखिन् ।

कार्यक्रम नेपाल रेडक्रस सोसाइटी तेह्रथुमका सभापति श्रीकृष्ण दाहालको अध्यक्षतामा भएको थियो । म्याङलुङमा शिविर शुक्रबारसम्म सन्चालन हुनेछ । यस्तै छथर गाउँपालिकाको शुक्रबारे बजारमा पनि पुष ८, ९ र १० गते शिविर सन्चालन गर्ने तयारी रहेको रेडक्रस तेह्रथुमका मन्त्री गजेन्द्र कन्दङवाले बताए ।