तेह्रथुम: तेह्रथुमको खोरुंगा खोलामा निर्माणधीन साढे ७ मेगावाटको माथिल्लो खोरुङ्गा खोला जलविद्युत आयोजनाको ६० प्रतिशत काम पूरा भएको छ । २०७३ माघबाट निर्माण सुरु भएको आयोजनाको आधाभन्दा बढी काम सकिएको हो । आयोजनाको बाँध, पाइप लाइन र विद्युत गृह लगायत सबै संरचनाको काम काम भइरहेको तेह्रथुम पावर कम्पनीका कार्यकारी निर्देशक मोहनकुमार डाँगीले जानकारी दिए । उनका अनुसार इवाखोला र खोरुङ्गा खोलामा आयोजनाको छुट्टा–छुट्टै बाँध निर्माण भइरहेको छ ।

khorunga (7)

आयोजनाको दुईमध्ये इवाखोलाको बाँधको काम सकिएको छ । खोरुङ्गा खोलाको बाँध निर्माणाधीन रहेको छ । गत असारमा भारी वर्षापछि आएको बाढीले क्षति पु¥याएको इवाखोलाको बाँध क्षेत्रको अन्डर–स्लुइस गेट र ग्रावेल ट्रापको पुनर्निर्माण गरिएको कम्पनीले जनाएको छ । खोरुङगा खोलाको पानी इवाखोलामा झारेर विद्युत गृहमा पठाई साढे ७ मेगावाट विद्युत उत्पादन गर्ने गरी आयोजना डिजाइन गरिएको छ ।

आयोजना सम्पन्न गरी २०७६ पुस १ गतेबाट व्यवसायिक विद्युत उत्पादन गर्ने तालिका भएपनि ६ महिनाअघि नै निर्माण सम्पन्न गरेर विद्युत उत्पादन सुरु गर्ने कम्पनीको दाबी छ । आयोजना पूरा भएपछि विद्युत गृहबाट ४ दशमलव ७ किलोमिटर दुरीमा पर्ने जिरीखिम्ती सब–स्टेसनमार्फत राष्ट्रिय प्रसारणमा जोडिनेछ ।

कूल १ अर्ब ३७ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ७३ प्रतिशत ऋण र २७ प्रतिशत स्व–पुँजी लगानी रहेको छ । आयोजनामा माछापुच्छ्रे बैंकको अगुवाइमा नेपाल बंगलादेश र जनता बैंकले ऋण लगानी गरेका छन् ।

khorunga (6)