विराटनगर: जिल्ला अध्यक्ष तथा एशोसियट, प्रतिष्ठान तथा प्रदेश समितिका अध्यक्षहरुको सहभागिता रहेको नेपाल पत्रकार महासंघको राष्ट्रिय सम्मेलन बिराटनगरमा शुरु भएको छ ।

उक्त सम्मेलनको प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले उ्दघाटन गरेका थिए । सम्मेलनको संयोजन महासंघको १ नं प्रदेश समितिले गरेको छ मुख्यमन्त्री राईले आफु पुर्ण प्रेसमैत्री बन्न प्रयास गरिरहेको दाबी गर्दै प्रदेश सरकारको पहिलो निती तथा कार्यक्रम र बजेट व्यक्तव्य जारी गर्दा पनि प्रेसमैत्री भएर काम गरेको बतएका थिए । राजनैतिक परिवर्तनदेखि लोकतन्त्र, संघीयतालाई संस्थागत गर्न र मुलुकलाई जोगाउन प्रेसको भुमिका महत्वपुर्ण रहेको मुख्यमन्त्री राईले बताए ।

साथै उनले नेपाली समाज नकारात्मक भावनाबाट प्रेरित रहेको भन्दै त्यसलाई वदल्न प्रेस जगत र राष्ट्रिय सम्मेलनले बिशेष भुमिका खेल्ने अपेक्षा पनि व्यक्त गरे । प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले संघीय तथा प्रदेश सरकारसँग प्रेस नगराउन आग्रह गर्दै प्रदेश सरकारबाट भएको गल्तीको प्रमाणसहित आलोचना गर्न आग्रह गरेका थिए । यद्यपी उनले साना तिना कुरालाई पनि मिडियाले उछालेको भन्दै टिप्पणी पनि गरे । महासंंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले पत्रकारितालाई जिम्मेवार बनाउन महासंघ कटिवद्ध रहेको र सम्मेलनले त्यसै अनुसार रणनीतिक योजना तयार गर्ने बताए । उनले प्रेस स्वतन्त्रतासम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मान्यतालाई हामीले कसरी आत्मसात गर्ने भनेर विज्ञहरुबाट आएको सुझावलाई अवलम्वन गरिने बताए ।

उद्घाटन सत्रमा प्रदेश सभा सदस्य जयराम यादव, महासंघका पुर्ब अध्यक्ष शिव गाउँले, न्युनतम पारिश्रमिक निर्धारण समितिका संयोजक गंगधर पराजुली,प्रेस चौतारीको तर्फबाट गणेश बस्नेत, प्रेस युनियनका अध्यक्ष बद्री सिग्देललगायतले पनि बोलेका थिए । सम्मेलनमा ४ वटा कार्यपत्र प्रस्तुत हुनुको साथै त्यसमा छलफल गरी बिराटनगर घोषणा पत्र जारी हुने छ । सम्मेलनमा सहभागी हुन देशभरबाट करिब २ सय पत्रकार आएका छन् । सम्मेलन पश्चात महासंघको केन्द्रीय कार्यसमिति बैठक धनकुटामा बस्नेछ ।