पोखरा : बैंकहरुले सेवाग्राहीहरुलाई पुजी अभाव भन्दै ऋण दिन मानिरहेका छैनन् । नेपाल सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले भने बैंक तथा बित्तिय संस्थाबाट ऋण नपाए उजुरी गर्न सर्वसाधारण एवं सेवाग्राहीहरुलाई आग्रह गरेका छन् ।

अर्थमन्त्री खतिवडाले बिहीबार पोखरामा लेखनाथ महोत्सवको उद्घाटन गर्दै बैंकले ऋण नदिए उजरी गर्न आग्रह गरेका हुन् । उनले युवाहरुलाई उत्पादनसँग जोड्न आवश्यक भएको र त्यसको लागि सस्तो दरमा ऋण उपलब्ध गराउने पनि बताए । अर्थमन्त्री खतिवडाले युवाहरुलाई स्वरोजगरा तथा उद्यमशील बनाउन र प्राविधिसँग जोड्न सरकारले काम गरिरहेको पनि बताए । युवाहरुलाई उत्पादनसिल बनाउन सस्तो ब्याज अनुदानमा सरकारले ऋण उपलब्ध गराएको खुलाउदै उनले ऋण नपाए उजुरी गर्ने ठाउँ पनि रहेको बताए ।

सरकारले अध्ययन प्रमाणपत्र धितो राखेर उद्यमशील बन्न चाहनेहरुलाई ऋण उपलब्ध गराउने व्यवस्था गरिसकेको अर्थमन्त्री खतिवडाको भनाई थियो । सरकारले ल्याएको स्किमसँग जोडिन युवाहरुलाई आग्रह गर्दै उनले भने, ‘नजिकको बैंक, वित्तिय संस्थामा जानुस् र ऋण लिनुस् । सटिर्फिकेट धितो राखेर लिन चाहनुहुन्छ भने सरकारले त्यसको पनि व्यवस्था गरिसकेको छ ।' अर्थमन्त्री खतिवडाले महिला उद्यमीलाई पनि सरकारले व्यवस्था गरेको बताए । सरकारको योजनाले युवाहरुलाई विदेश पलायन हुनबाट रोक्ने अपेक्षा लिएको खतिवडाको भनाई थियो ।

सन् २०२० सम्म २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य रहेको भन्दै अर्थमन्त्री खतिवडाले पर्यटनका माध्यमबाट युवालाई रोजगारीको अवसर सृर्जना हुने पनि बताए । एक पर्यटकले २ जनालाई रोजगारी दिनसक्ने धारणा राख्दै अर्थमन्त्री खतिवडाले आगामी १० बर्षभित्र नेपालमा ५० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको पनि बताए । सरकारले पर्यटक भित्र्याउन लक्ष्य पुरा गरेमा नेपालका युवाहरुले स्वदेशमा नै रोजागरी पाउने उनको भनाई थियो ।