दार्चुला : दार्चुला जिल्ला अस्पतालमा जाँचका क्रममा १८ जनामा डेंगु देखा परेको छ। जिल्लामा पहिलोपटक डेंगु रोग देखिएको छ।

जिल्ला अस्पताल दार्चुलामा आएका बिरामीहरूमध्ये ६ महिला र १२ जना पुरुषमा डेंगुको संक्रमण देखिएको जिल्ला अस्पताल दार्चुलाका सिनियर अहेब डम्बरदत्त भट्टले बताए। चालु आर्थिक वर्षको मंसिर महिनासम्म १८ जनामा डेंगु रोगको संक्रमण देखिएको छ ।, विगतमा कहिल्यै नदेखिएको डेंगु रोगका बिरामीहरु यो आर्थिक वर्षमा देखिएको जिल्ला अस्पताल दार्चुलाले जानकारी दिएको छ। विगतमा डेंगु भए नभएको जाँच गर्ने प्रायोगशाला नै नभएको र प्राविधिक जनशक्ति समेत नभएको दार्चुला जिल्ला अस्पतालमा जाँच गर्ने प्रयोगशाला र प्राविधिक जनशक्ति आउनेबित्तिकै डेंगु देखिएको अस्पताल स्रोतले जानकारी दिएको छ।

जिल्ला अस्पतालमा उपचार गराउन आउने र यहाँबाट रिफर भएर जाने बिरामीहरूमा योभन्दा पहिले डेंगु देखिएको नसुनिएको पनि अस्पताल स्रोतले जानकारी दिएको छ।