मस्को :६६ वर्षका रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले आफूले दोस्रो बिहे गर्न सक्ने बताएका छन् । बिहीबार वार्षिक पत्रकार सम्मेलनको क्रममा उनले यस्तो बताएका हुन् । बिहीबार पत्रकार सम्मेलनमा पुटिनले अन्तर्राष्ट्रिय मुद्दा र अर्थव्यवस्थाबारे कुरा गर्दै थिए । पत्रकारको प्रश्नको जवाफ दिइरहेको पुटिनलाई एकाएक एक पत्रकारले आफ्नो कुनै एउटा रहस्य उजागर गर्न चुनौती दिए जुन रहस्य उनको मनको निकै नजिक होस् ।

ती पत्रकारको भनाइपछि पुटिनले मुस्कुराउँदै भने ‘एक इज्जतदार व्यक्ति भएको नाताले मैले कुनै न कुनै बेला बिहे गर्नैपर्छ ।’ तर, पुटिनले यो बताएनन् कि उनी कोसँग विवाह गर्दैछन् । रुसी तथा अन्तर्राष्ट्रिय मिडियाको दावी अनुसार पुटिनको रुसकी पूर्व जिम्न्यास्टिक खेलाडी एलिना कबाएबासँग सम्बन्ध छ । एलिना जिम्न्यास्टिकमा ओलम्पिक स्वर्ण पदक विजेता हुन् ।

putin

यद्यपि पुटिनले भने यो कुरा स्वीकार गरेका छैनन् । तर, एलिना विभिन्न ठाउँमा औपचारिक जिम्मेवारीबिना पनि पुटिनसँगै देखिन्छिन् । २०१६ मा अन्तर्राष्ट्रिय मिडिया रोयटर्सले एक रिपोर्टमा पुटिनका नजिकका एक व्यापारीले एलिनाको नाममा कैयौं भौतिक सम्पत्ति नामसारी गरिदिएको दावी गरेको थियो ।