तेह्रथुम : तेह्रथुममा जारी भगिमानसिंह स्मृति आमन्त्रण फुटबल प्रतियोगिताको उपाधिकालागि माइभ्याली फुटबल क्लब इलाम र उदयपुर भिड्ने भएको छ ।

शुक्रबार भएको सेमीफाइनल खेलमा उदयपुरले पाँचथरलाई र इलामले झापालाई पराजित गर्दै उपाधि नजिक पुगेको हो । उपाधिका लागि शनिबार विहान ११ बजे इलाम र उदयपुरबीच खेल हुने आयोजक भगिमानसिंह स्मृति प्रतिष्ठानका प्रचार प्रसार संयोजक जुली सुब्बाले जानकारी दिए । शुक्रबार भएको सेमीफाइनलको पहिलो खेलमा उदयपुरले र पाँचथरलाई ट्राइवेकरमा ४–२ गोल अन्तरले पराजित गरेको थियो ।

खेलमा पाँचथरले राम्रा अवसरहरुमा समेत गोल गर्न नसक्दा उपाधि होडबाट बाहिरियो । खेलको पहिलो हाफमा उदयपुरका हेम राईले पेनाल्टीमार्फत गोल गर्दै टिमलाई अग्रता दिलाए । दोश्रो हाफमा पाँचथरकालागि गजिन राईले एक गोल फर्काएका थिए । निर्धारित समयमा १–१ को बराबरी खेलेपछि खेल ट्राइवेकरमा धकेलिएको थियो । जितसँगै उदयपुर उपाधि नजिक पुगेको हो ।

शुक्रबारै भएको सेमीफाइनलको दोश्रो खेलमा माइभ्याली फुटबल क्लब इलामले जलथल फुटबल क्लब झापालाई २–० ले पराजित गरेको छ । इलामका लागि मनिष राई र पासाङ शेर्पाले १–१ गोल गरे । जितसँगै इलामले उदयपुरसँगको भेट पक्का गरेको हो । प्रतियोगिताको फाइनल खेल प्रदेश नं. १ का प्रमुख गोविन्द तुम्बाहाङको प्रमुख आतिथ्यतामा विहान ११ बजेबाट हुने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रदेश नंं. का १० जिल्लाका एक एक टिम सहभागी थिए । विजेताले नगद २ लाख ५ हजार र उपविजेतालेनगद १ लाख १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ ।