धरान: लागुऔषध नियन्त्रण एवं न्युनीकरणको लागि प्रहरी, सामाजिक संघसंस्था र समुदायले विभिन्न अभियानहरु चलाएपनि धरानमा करोबार र सेवनमा कमी आउन सकेको छैन ।

चालु आर्थिक बर्ष २०७५/०७६ को पाँच महिनाको तथ्यांक हेर्दा पनि धरानमा लागुऔषधको कारोबारी र सेवनकर्ताहरु उल्लेख्य रहेको पुष्टि हुन्छ । चालु आर्थिक बर्षको ५ महिनामा धरानमा लागूऔषध मुद्दामा ७४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ७२ जना पुरुष र २ जना महिला छन् । इलाका प्रहरी कार्यालय धरानको तथ्याङ्क अनुसार जसमा पक्राउ परेका ७४ जना मध्ये १७ जना लागूऔषध कारोबारी र २८ जना लागूऔषध प्रयोगकर्ता रहेका छन् । पुष ४ गतेसम्मको तथ्यांक अनुसार ३८ वटा मुद्दा दर्ता भएको छ भने २९ जनामाथी अनुसन्धान जारी छ । मुद्दा दर्ता भएर कारबाही प्रक्रिया अघि बढाइए पछि अदालतको आदेशबाट धरौटीमा २८ जना छुटका छन् भने १७ जना पुर्पक्षको लागि जेल चलान भएको इलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ । जेल चलान भएका अधिंकाश लागूऔषध कारोबारी रहेको डिएसपी सुमन तिम्सिनाले जानकारी दिए ।

डिएसपी तिम्सिनाका अनुसार बेरोजगार, न्यून आर्थिक अवस्था र महत्वकांक्षी युवायुवतीहरु लागूऔषधको कुलतमा फस्ने गरेका छन् । ‘बेरोजगार, निम्न स्तरका भएका धेरै लागूऔषधमा फसेका छन्,’ डिएसपी तिम्सिनाले भने,‘कति त, २५–३० वर्षको उमेरमा पनि केही गर्न सकिन भनेर अर्काको प्रगति देखेर लागुऔषधमा फसेको पनि पाइयो ।’ धरानको हकमा लागूऔषध दुब्र्यसनीहरु केही नियन्त्रण भइरहेको भएपनि न्युनीकरण नै भएको भन्ने अवस्था छैन । निम्न आयस्तर भएका परिवारका छोराछोरी भढी दुब्र्यसनीको शिकार भएकाले सुधार गृहमा राख्न नसक्दा न्यूनिकरण गर्न नसकिरहेको डिएसपी तिम्सिनाको भनाइ छ । ‘आर्थिक अवस्था कमजोर भएकोले सुधार केन्द्रमा राख्न पनि सक्दैनन्, अनि फेरी सेवन गर्न थाल्छन्, यो पनि एउटा समस्या छ,’उनले भने ।

के के भयो वरामद ?

इलाका प्रहरी कार्यालयको तथ्याङक अनुसार पक्राउ परेकाहरुबाट एभिल, नाइट्रोसन ट्याब्लेटदेखि , चरेश, ब्राउनसुगर र गाँजा पनि वरामद भएको छ । कार्यालयका अनुसार २ सय ५९ एम्पुल एभिल, २ सय ६० लुपिजेसिक, २ सय ५९ एम्पुल डाइजेल्याव, ४७ बोतल डाइलेक्स डिसि, ३ सय ७८ ट्याबलेट नाइट्रोसन वरामद भएको छ । यस्तै,४ हजार ५ सय ४० स्पास्मो प्रोक्सिभन पनि बरामद भएको छ । यस्तै, १० ग्राम ५ सय मिलिग्राम ब्राउन सुगर, ६ ग्राम चरेस र गाँजा २१ केजी बरामद गरेर अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।

न्युनीकरण गर्न के गर्नुपर्छ ?

लागुऔषध प्रयोग गर्नेहरुले हार्डवेयर पसलमा खरीद बिक्री गर्ने डेन्ड्राइट पनि प्रयोग गरिरहेका छन् । बिशेष गरी सडक बालकहरु डेन्ड्राइटको कुलतमा फसेका छन् । त्यसैले मेडिकल पसलदेखि हार्डवेयर पसलहरुले पनि जथाभावीरुपमा औषधी र डेन्ड्राइटहरु बिक्री गर्न नहुने डिएसपी तिम्सिना बताउँछन् । लागुऔषध दुव्र्यसनलाई न्युनीकरण गर्न प्रहरीलाई सबै नगरबासीले सहयोग गर्नुपर्ने उनले बताए । ‘कसैलाई शंका लागे अथवा केही पाइए प्रहरीलाई खबर गरेर सहयोग गर्नुपर्छ,’डिएसपी तिम्सिनाले भने,‘प्रहरी कार्यालय सजाए दिने ठाउँ मात्र नभएर केही पाठ सिक्ने ठाउँ पनि हो, यसरी हामीले बुझ्नुपर्छ ।’

लागूऔषध विरुद्ध कार्यक्रम सञ्चालन गरिरहेको कियाचु पुर्नजीवन केन्द्रका कार्यक्रम प्रबन्धक विजय लिम्बूले सचेतनाको कार्यक्रम पनि प्रभावकारी रुपमा सञ्चालन हुनुपर्ने बताउछन् । लागूऔषधमा फसेकाहरुको परिवारलाई पनि सचेत गराउन जरुरी रहेको उनले भनाई छ । सरकारले लागुऔषध नियन्त्रणको लागि विभिन्न नीति अगाडी सारेपनि प्रभावकारी ढंगले कार्यान्वयन हुन नसक्दा समस्या भइरहेको उनले बताए ।