तेह्रथुम:तेह्रथुमका सबै स्थानीय तहसम्म नियमित यातायात सेवा सञ्चालन भएको छ । दुई नगरपालिका र चार गाउँपालिका रहेको जिल्लाका सबै स्थानीय तहका केन्द्रबाट पूर्वी तराईसम्म पुग्ने नियमित सवारी सेवा सञ्चालन हुन थालेको हो ।

हालै आठराई गाउँपालिकाको केन्द्र सक्रान्तिबजारबाट सदरमुकाम म्याङ्लुङ हुँदै धरानसम्म सीधा बस सेवा शुरु भएको छ । हिउँदयाम शुरु भएसँगै जिल्लाको मेन्छ्यायेय गाउँपालिका, फेदाप गाउँपालिका र आठराई गाउँपालिकाका केन्द्रबाट सिधै पूर्वी तराईसम्म बस सेवा शुरु भएको हो । जिरीखिम्ती–मोराहाङ सडक १२ वर्षदेखि निर्माणाधीन भए पनि अहिलेसम्म भरपर्दो यातायात सेवा उपलब्ध थिएन । हिउँदयाम शुरु भएलगत्तै सडक स्तरोन्नति गरी गाउँपलिका र नगरपालिकाले नियमित बस सेवा सञ्चालन गरेका हुन् । मोराहाङ बजारसम्म नै बस सञ्चालन हुन थालेपछि स्थानीयवासीलाई राहत मिलेको स्थानीय पुष्पा गौतमले बताए ।

यसअघि यहाँका बासिन्दा बस चढ्नका लागि करीब तीन घण्टा पैदल हिँडेर म्याङ्लुङ आइपुग्ने गरेका थिए । १२ किमी दूरीको जिरीखिम्ती–मोराहाङ खण्डमा पनि अहिले दैनिक बस सेवा सञ्चालन भइरहेको यातायात व्यवसायी डिल्ली रेग्मीले बताए । बस सञ्चालनसँगै मेन्छ्यायेम गाउँपालिकाका मोराहाङ, श्रीजुङ र पौठाक गाउँका बासिन्दालाई समेत सहज भएको छ ।