पथरी : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नयाँ संविधान बनेपछि देश भौतिक विकास र संमृद्धिको दिशामा अघि बढेकोले सबै मिलेर नेपालको पूर्ण विकासमा लाग्नुपर्ने वताएका छन् । मोरङको पथरीस्थित सिरिजङ्गा धार्मिक वन र किरात याक्थुङ चुम्लुङ पथरीशनिश्चरे नगर समितिद्वारा शनिबार आयोजित चासोक तङ्नाम कार्यक्रममा मुख्यमन्त्री राईले सो कुरा बताएका हुन् ।

उनले किराती समुदायको संस्कृतिक पहिचानको संरक्षण र विकासमा लाग्नुपर्ने बताए । किराती संस्कार, पहिचान र संस्कृति युगयुगसम्म रहिरहनुपर्ने मुख्यमन्त्री राईको जोड थियो ।  भूगोलको हिसावले १ नम्बर प्रदेश हिमाल, पहाड, तराई मिलेर बनेको र भाषा, लिपि, धर्म, संस्कार संस्कृतिकमा समेत विविधता रहेको बताए । १ नम्वर प्रदेशमा रहने किरातीलगायतका सबै संस्कार, संस्कृतिलाई साझा बनाउनुपर्ने उनको तर्क थियो । आफू भूमिपूजक किरातीको कूलमा जन्मिएकोमा गर्व लाग्ने गरेको समेत राईले बताए ।

सिरिजंङ्गा धार्मिक वनका अध्यक्ष गंगा साम्बाको सभापतित्मा भएको कार्यक्रममा प्रदेश संसद कुलप्रसाद लिम्बू, सुयोर्माराज राई, पथरीशनिश्चरे नगर प्रमुख दिलिपकुमार राई, किरात याक्थुङ चुम्लुङका केन्द्रीय उपाध्यक्ष कमल तिगेला लगायतले शुभकामना दिए ।

दिउँसो सांस्कृतिक कार्यक्रम र साँझमा भने मनोरञ्जतात्मक कार्यक्रम भएको थियो । शनिबार अपरान्ह गायक दिपक लिम्बूलगायतका कलाकारहरुले गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

चार दिनसम्म चलेको चासोक तङ्नाममा महिला तथा पुरुषको १ नम्बर प्रदेशस्तरीय भलिबल प्रतियोगिता भएको थियो । विजेता टिमलाई नगद, ट्रफी, मेडर र प्रमाणपत्र प्रदान गरिएको थियो ।