पथरी  : पूर्वाञ्चल भलिबल संघको आयोजना तथा लेटाङ नगर भलिबल संघको सहआयोजनामा लेटाङ भलिबल कोर्टमा शनिबार सम्पन्न एक दिवसिय भेट्रान्स भलिबल प्रतियोगिताको उपाधि संखुवासभा भेट्रान्स टिमले जितेको छ । फाइनलमा संखुवासभा भेट्रान्सले सुनसरी भेट्रान्सलाई २५–११ र २५–११ को समान सेटमा पराजित गरेको हो ।

पहिलो सेमिफाइनलमा झापा भेट्रान्सलाई १९–२५ र ११–२५ को सोझो सेटमा पराजित गर्दै सुनसरी फाइनलमा प्रवेश गरेको थियो भने दोस्रो सेमिफाइनलमा मोरङ भेट्रान्सलाई २०(२५ र २०(२५ को समान सेटमा पराजित गर्दै संखुवासभा भेट्रान्स फाइनलमा प्रवेश गरेको थियो । यस अघि प्रतियोगिताको उदघाटन खेलमा लेटाङ नगर भेट्रान्सलाई २४–२६ र १९ –२५ ले पराजित गर्दै संखुवासभा भेट्रान्सले विजयी सुरुवात गरेको थियो ।

प्रतियोगिता विजेता संखुवासभाले रु २५,००० बराबरको खसि जितेको छ भने उपविजेता सुनसरीले रु १०,००० नगद प्राप्त गरेको छ । प्रदेश नं १ का झापा, मोरङ, सुनसरी र संखुवासभा जिल्ला भेट्रान्स टिमका साथै लेटाङ नगर भेट्रान्सको सहभागिता थियो । प्रतियोगितामा पूर्व राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल खेलाडीहरूको समेत सहभागिता थियो ।