धरान : १ नम्बर प्रदेश अन्तर्गत ईलाम र संखुवासभा जिल्लामा शनिवार आगलागी भएको छ । आगलागि हुँदा अन्दाजी साढे १३ लाख बराबरको क्षति भएको छ ।

ईलामको रोङ गाउँपालिका ५ मा राम बहादुर राईको घरमा शनिवार आगलागी हुँदा अन्दाजी १२ लाख मूल्य बराबरको क्षति भएको छ ।
बिहान करिब ११ बजेको समयमा घरमा कोही नभएको अवस्थामा बिजुलीको तार सर्ट भई आगलागी हुँदा राईको फुसको छानो भएको १ तले घर, घर भित्र पार्किङ गरेर राखेको मोटरसाईकल, अन्नपात र लत्ताकपडा जलेर नष्ट भएको छ । उक्त आगलागी प्रहरी र स्थानीयवासीको सहयोगमा दिउँसो सवा १२ बजे पूर्ण रुपमा नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

त्यसैगरी संखुवासभाको खाँदवारी नगरपालिका ६ पाङठामा तेज बहादुर घिमिरेको खेतमा रहेको मतान घरमा आगलागी हुँदा अन्दाजी १ लाख ५२ हजार मूल्य बराबरको क्षति भएको छ । बिहान करिब ९ बजेको समयमा मतान छेउमा रहेको फोहेरमा सल्काउने क्रममा अचानक आगलागी हुँदा मतानघर, १५ मुरी धान, भाडावर्तन, लत्ताकपडा र नगद ७ हजार जलेर नष्ट भएको छ । उक्त आगलागी प्रहरी र स्थानीयवासीको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।