ब्लाष्ट टाइम्स : धरानबाट प्रकाशन हुने ब्लाष्ट टाइम्स दैनिकले “नक्कली कम्पनी खोली ठगी प्रकरण, ४२ लाख २४ हजार ठगी गरेको खुलासा” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । नक्कली विधुत परियोजना र विजनेस मेनेजमेन्ट ग्रुप खोलेर ठगी धन्दा चलाउने मोरङको लेटाङ–३ घर भई विराटनगर बस्दै आएका ५१ वर्षीय गुणराज ओझाले ४२ लाख २४ हजार २ सय ८० रुपैयाँ ठगी खुलेको छ । २४ जनाबाट सो रकम ठगी गरेको जिल्ला अदालत मोरङमा प्रहरीले सरकारी वकिलको कार्यलमार्फत दायर गरेको अभियोग–पत्रमा उललेख छ । ओझाले नक्कली कम्पनीमा कार्यरत कर्मचारीदेखि घरभेटी फर्निचर व्यापारीसम्मलाई ठगी गरेको अनुसन्धानबाट खुलेको छ ।

मर्निङ टाइम्स : धरानबाट प्रकाशन हुने मर्निङ टाइम्स दैनिकले “चासोकमा उपहार एक कट्ठा जग्गा” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । आदिबासी लिम्बु समुदायको सांस्कृतिक पर्व चासोक तङनामको अवसरमा शनिबार धरान वडा नं. १३ वडा समितिले लिम्बु समुदायको धार्मिक, सांस्कृतिक कुराहरुको संरक्षण सम्र्बद्धन गर्न एक कट्ठा जमिन प्रदान गरेको छ । यसलाई चासोक पर्वकै दिनमा वडा १३ ले प्रदान गरेको उपहारको रुपमा वडाका समुदायले लिएका छन् । वडा कार्यलयले देखाएको यस उदारताले धरानमा सामाजिक, सांस्कृतिक सद्भावको निरन्तरता तथा आपसी सहयोगको भावना थप बल प्रदान गरेको रुपमा लिम्बु समुदायले लिएका छन् ।

औजार दैनिक : धरानबाट प्रकाशन हुने औजार दैनिकले “विकास निर्माणको अनुगमन, निरिक्षण सुझाब संकलन गर्दै सभामुख” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । एक नं. प्रदेशका सभामुख प्रदीप भण्डारीले आफनो क्षेत्र सुनसरी क्षेत्र नं. १ ‘क’ मा रहेका विकास निर्माण तथा योजनाहरुको अनुगमन गरेको छ । शनिबार उनले धरान–५ स्थित कृष्ण पथको तल्लो देउरालीमा सडक निर्माण तथा अन्य विकास निर्माणको लागी अनुगमन निरीक्षण गरेका छन् । सभामुख भण्डारीले स्थानीय आवस्यकता अनुसारका योजनाहरु कसरी निर्माण गर्न सकिन्छ भन्ने सन्दर्भमा सुझाव संकलन गर्ने तथा आवश्यकता के छ भन्ने बुझनको लागी स्थानिय माझ आएको बताए ।

बिष्फोटन : धरानबाट प्रकाशन हुने विष्फोटन दैनिकले “स्थानीय तहमा क्यान्सर सुचना केन्द्र” शीर्षकको समाचारलाई मुख्य समाचारको रुपमा छापेको छ । उत्तरपूर्वी मोरङको ६ वटा स्थानीय तहहरुको समन्वयमा क्यान्सररोग हुनबाट जोगाउन जनचेतनासहित क्यान्सरको उपचारमा सक्तियता बढाउने अभियान अघि बढेको छ । समुदाय, सरकार निजी क्षेत्रको सहकार्यमा उर्लाबारी, पथरीशनिश्चरे, लेटाङ, रतुवामाई नगरपालिका, मिक्लाजुङ र कानेपोखरी गाउँपालिकाले क्यान्सर सुचना केन्द्र सञ्चालक समिति गठन गरी अभियान अघि बढाएका हुन् ।