धरान: दोस्रो कामना टोल अन्तर कलेजस्तरीय छात्र तथा छात्रा फुटबल प्रतियोगिता शनिबारदेखि धरान–१६ को भगवती माविको खेलमैदानमा शुरु भएको छ ।

कामना टोल सुधार समिति धरान–१६ को आयोजना तथा कामना यूथ क्लवको सहयोगमा भएको प्रतियोगिताको उद्घाटन खेलमा छात्रातर्फ शारदा वालिका र छात्रतर्फ धरान आदर्श (विज्ञान संकाय) ले विजय सुरवात गरेका छन् । छात्रातर्फ बालिकाले विजयपुर कलेजलाई सडन डेथमा १०–८ गोलअन्तरले पराजित गरेको थियो । निर्धारित समयमा दुबै टिमले १-१ गोलको बराबरीमा खेलेपछि खेल टाइब्रेकरमा पुगेको थियो ।

त्यसैगरी, दोस्रो खेल छात्रतर्फ आदर्शले भिक्टोरीया कलेजलाई ४–० को फराकिलो अन्तरले पराजित गरेको थियो । खेलको म्यानअफ दि म्याच छात्रातर्फ विजयपुरको न्याङसेङ स्यानदेङ र छात्रतर्फ आदर्शका मनिराज राई घोषित भए । प्रतियोगितामा धरानभरीका २४ टिम सहभागी रहेको कामना टोल सुधार समितिका सचिब रमेश श्रेष्ठले बताए । जसमा २० टिम छात्र छन् ।

प्रतियोगिताको विजेता कलेजले नगद २० हजा रुपैयाँ र उपविजेताले नगद १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने श्रेष्ठले जानकारी दिए । कामनाको यो दोस्रो संस्करण हो । प्रतियोगिताको उद्घाटन अखिल नेपाल फुटबल संघ (एन्फा)का मानार्थ उपाध्यक्ष किशोर राईले गरे । यूवाहरुको फुटबल खेलको विकास गराउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको संस्थाका अध्यक्ष पर्शराम आङबुहाङले बताए ।