धरान : अंग्रेजी नयाँ बर्षको अवसरमा चर्चित पर्यटकीयस्थल भेडेटारमा आयोजना हुने सातौ भेडेटार फुड फेस्टिवलमा यसपाली पर्यटकहरुलाई नयाँ आर्कषण पनि थपिने भएको छ, त्यो हो हेलि टुर ।

फेस्टिवलमा सिम्रिक एयरले पर्यटकहरुलाई हेलिकप्टरबाट आकाशमा टुर गराउने भएको छ । फेस्टिवल आयोजक भेडेटार होटल एशोसिएशनका अनुसार पुर्वमा पहिलो पटक हेलि टुर आयोजना हुन लागेको हो । यसको लागि प्रतिव्यक्ति अर्थात एक जना पर्यटकलाई ४ हजार ९ सय मात्र शुल्क लाग्ने अध्यक्ष जितेन्द्र रुम्दालीले जानकारी दिए । ‘२६ किलोमिटर भित्र पर्ने ठाउँहरु सबै हेलिबाट घुमाएर देखाउने प्याकेज छ । प्लेन चढ्नेहरु धेरै छौ, तर हेलिकप्टर चढ्न पाएका हुदैनौ,’अध्यक्ष रुम्दालीले भने,‘अरुबेला रिजर्ब नै गर्नुपर्छ, फेस्टिबलमा शुलभ मुल्यमा हेलि टुर गर्ने मौका सबैलाई छ ।’

IMG_3320 copy

हेलिबाट २६ किलोमिटर भित्रको ठाउँहरुमात्र होइन, एकै पटक हिमाल पहाड र तराईलाई नियाल्न पनि सकिन्छ । हेलि टुर फेस्टिबल आयोजना हुने १६, १७ र १८ गते ३ दिनै सञ्चालन हुनेछ । हेलि टुर कम्तीमा ५ मिनेटसम्म उडाइने आयोजकले जनाएको छ । ‘यो प्याकेजबारे थाह पाउनेहरुले बुकिङ गर्न थालिसकेका छन् । अहिलेसम्म १२ वटा टिम रेडी भइसक्यो,’आइतबार साँझ एशोसिएशनका सदस्य प्रेमकुमार राईले भने,‘एक पटकमा ६ जना उड्न मिल्छ । यस्तो मौका फेरी फेरी आउदैन ।’