लेटाङ : मोरङको लेटाङ–२ मा प्रथम बुधबारे गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।

यहि पुस १७ गतेदेखि २८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ८ वटा फुटबल क्लबहरूले सहभागिता जनाउने आयोजक एकता स्पोर्टस् क्लबले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ । खेल संयोजक बालकुमार श्रेष्ठका अनुसार प्रतियोगितामा झापा, मोरङ तथा सुनसरीका ८ वटा फुटबल टिमले सहभागिता जनाउने छ । प्रतियोगितामा धरान फुटबल क्लब सुनसरी, राष्ट्रिय जागृति क्लब सुनसरी, डि.एफ.सी।.डाँगीहाट मोरङ, बिर्तामोड फुटबल क्लब झापा, मङ्गलबारे फुटबल क्लब मोरङ, बेलबारी फुटबल क्लब मोरङ, एकता स्पोर्ट क्लब मोरङ सहभागी हुने खेल संयोजक श्रेष्ठले बताए ।

प्रतियोगिताको प्रथम पुरस्कार १ लाख १ हजार रुपैयाँ, दोस्रो पुरस्कार ५१ हजार रुपैयाँसहित मेडल, शिल्ड तथा प्रमाणपत्र रहेको आयोजकले जनाएको छ ।  गाउँमा पहिलो पटक गर्न लागिएको ठूलो राशीको प्रतियोगिताले खेलाडी उत्पादनमा सहयोग पुग्ने लेटाङ– २ का अध्यक्ष तेजप्रसाद तिम्सिनाले बताए । १५ लाख भन्दा बढी खर्च लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ ।