उदयपुर : उदयपुरको कटारी नगरपालिका– ८ स्थित गल्टारको सौर्य सिमेन्ट उद्योगको चुनढुङ्गा खानीमा आगलागी हुँदा एक ट्यांकर र स्काभेटर जलेर नष्ट भएको छ ।

जिल्ला प्रहरी कार्यालय, उदयपुरका प्रहरी उपरीक्षक चन्द्रदेव राईले आईतबार राति ११ बजेतिर अचानक ट्यांकरमा आगलागी हुँदा स्काभेटरसमेत जलेर नष्ट भएको जानकारी दिए । आगलागीपछि कटारी नगरपालिकाको दमकल तथा प्रहरी र स्थानीयवासी नियन्त्रणमा जुटेका थिए । तर, त्यो प्रयास सफल हुन नसकेको उपरीक्षक राईले बताए ।

प्रारम्भिक अनुसन्धान अनुसार, आगलागीबाट करिब ३ करोडको क्षति भएको छ । आगलागी कसरी भयो वा कसले गरायो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।