तेह्रथुम: तेह्रथुमको आठराई गाउँपालिकाका सुख्खाग्रस्त क्षेत्रका खडेरीपीडित किसानहरूलाई राहत रकम वितरण गरिएको छ ।

प्रदेश सरकारको २४ लाख ३० हजार रूपैयाँ र गाउँपालिकाको १० लाख ४० हजार ४० रूपैयाँ गरि कुल ३४ लाख ७० हजार ४० रुपैयाँ रकम एक कार्यक्रमका बीच वितरण गरिएको गाउँपालिकाका अध्यक्ष मानबहादुर लिम्बुले जानकारी दिए । आठराई गाउँपालिका वडा नं. ४, ५, ६ र ७ का सुख्खा ग्रस्त क्षेत्रबाट प्रभावित किसानहरुलाई राहत वितरण गरिएको हो । सुख्खाग्रस्त क्षेत्रका ४ सय ८६ घरधुरीलाई प्रति घरधुरी ७ हजार १ सय ४० रूपैयाँका दरले राहत रकम वितरण गरिएको अध्यक्ष लिम्बुले बताए ।

यस्तै आठराई गाउँपालिकाको विपत व्यवस्थापन कोष अन्तर्गत आठराई गाउँपालिकामा रहेका असहय रोगी तथा विपत्मा परेका नागरिकहरुलाई ३ लाख ४५ हजार रुपैयाँ रकम वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजेन्द्रप्रसाद दाहालले बताए । कार्यक्रम प्रदेश सभा सदस्य तेजमान कन्दङवाको प्रमुख आतिथ्यता तथा आठराई गाउँपालिकाका अध्यक्ष मानबहादुर लिम्वुको अध्यक्षतामा भएको थियो ।