अस्ट्रेलिया: नेपालका चर्चित युवा खेलाडी सन्दीप लामिछाने अस्ट्रेलियाको घरेलु क्रिकेट प्रतियोगिता बिगबास टि २० मा पनि चम्किएका छन् ।

मेलबर्न स्टार्समा आवद्ध भई खेलिरहेका सन्दीपले दोस्रो खेलमा होबार्ट हुरिकेन्सविरुद्ध ३ विकेट लिदैँ धुम मच्चाएका छन् । उनले डेब्यु खेलमा पनि सिड्नी थण्डरविरुद्ध सन्दीपले २ विकेट लिएर सानदार शुरुवात गरेका थिए । सोमबार भएको हुरिकेन्सविरुद्धको खेलको सातौं ओभरमा वलिङ गर्न आएका सन्दीपले एलेक्स डोलानलाई बोल्ड गरे ।

यस्तै चौधौं ओभरमा आफ्नो तेस्रो ओभर लिएर आएका सन्दीपले हुरिकेन्सका ओपनर म्याथ्यु वाडेलाई पवेलियन फर्काए भने सोह्रौं ओभरमा अन्तिम ओभर वलिङ सन्दीपले पहिलो बलमै म्याक डोरिमेटलाई एलबिडब्लुको सिकार बनाए । समग्रमा सन्दीपले चार ओभरको स्पेलमा २४ रन खर्चेर ३ विकेट लिए । सन्दीप चम्किएपनि उनको टोली हुरिकन्ससँग ६ विकेटले पराजित हुनपुग्यो ।

बिगबासमा सन्दीपले समग्रमा दुई खेलबाट पाँच विकेट लिएका छन् । पहिलो खेलमा पनि सन्दीपले आफ्नो पहिलो ओभरमा नै दुइ विकेट लिएका थिए । आठौं ओभरमा व्यक्तिगत पहिलो ओभर लिएर आएका सन्दीपले दोस्रो बलमा शेन वाट्सनलाई पवेलियन फर्काएका थिए । सोही ओभरको अन्तिम बलमा सन्दीपले क्यालुम फर्गुर्सनलाई कट एण्ड बोल्ड पारेका थिए ।

get_img

२०१८ मा आइपिएल डेब्यूपछि सन्दीपले विश्वभर फ्रेन्चाइजी लिग खेल्न भ्रमण गरिसकेका छन् । २०१८ जनवरीमा सन्दीपलाई दिल्लीले उनको आधारमुल्य २० लाख भारतीय रुपैयामा लिएको थियो । त्यसले उनलाई आइपिएल खेल्ने पहिलो नेपाली खेलाडी बनायो। मार्चमा उनी वेस्टइण्डिजको क्यारिबियन प्रिमियर लिगका लागि सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्स टोलीसँग अनुबन्धित भए। त्यसपछि जुनमा मोन्ट्रोलियर टाइगर्सबाट ग्लोबल क्यानडा टी–२० खेले ।

सेप्टेम्बरमा उनी अफगानिस्तान प्रिमियर लिगको पहिलो संस्करणका लागि नाग्राहार टोलीसँग अनुबन्धित भए भने अक्टोबरमा बिगबास र त्यही महिना बंगलादेश प्रिमियर लिगका लागि सिलेट सिक्सर क्लबसँग अनुबन्धित भए । सन्दीपलाई आइपिएल टोली दिल्ली क्यापिटलले नयाँ सिजनका लागि अनुबन्ध गरिसकेको छ भने नोभेम्बरमा मात्रै सन्दीप पाकिस्तानी सुपर लिगका पनि अनुबसन्धित भइसकेका छन्।