धरान: रात्री बजारकोरुपमा विकास हुदै गएको धरानको प्रमुख पर्यटकीयस्थल बगरकोटका व्यवसायीहरुले एवं रात्री बजार विभिन्न चाडपर्वहरुको अवसरमा तीन दिन राती १२ बजेसम्म होटल, रेष्टुरेष्टहरु सञ्चालनको अनुमति मागेका छन् ।

बगरकोट व्यावसायी समितिले सोमबार इलाका प्रहरी कार्यालय धरानमा लिखित निवेदन पेश गर्दे राती १२ बजेसम्म होटल, रेष्टुरेष्टहरु सञ्चालनको लागि अनुमति मागेको हो । समितिले चासोक तङ्नाम, क्रिसमस, गुरुङ ल्होसारलगायत चाडहरु परेको भन्दै आज पुष ९ गतेदेखि राती १२ गतेसम्म राती १२ बजेसम्म सञ्चालनको माग गरेको हो । समितिका सचिव शुक्रराज लिम्बूले चाडपर्वको अवसरमा ग्राहकहरुको चाप बढी हुने भएकोले राती १२ बजेसम्मको लागि होटल, रेष्टुरेष्ट सञ्चालनको अनुमति माग गरिएको बताए । ‘३ दिन राती १२ बजेसम्म होटल, रेष्टुरेष्ट सभ्य र भव्यरुपमा सञ्चालनको लागि अनुमति मागिएको छ,’उनले भने । बगरकोट क्षेत्रमा राती ११ बजेसम्म मात्र होटल, रेष्टुरेष्ट सञ्चालनको अनुमति छ ।

व्यावसायीहरुले ३ दिनको लागि १२ बजेसम्म होटल, रेष्टुरेष्टहरु सञ्चालनको अनुमति मागेपनि प्रहरीले भने आज(पुष ९, सोमबार) एक दिन मात्र राती १२ बजेसम्म अनुमति दिएको छ । ‘उहाँहरुले ३ दिनलाई १२ बजेसम्म भनेर पत्र दिनुभएको थियो, तर होटल एशोसिएशनसँग कुरा गरेपछि आजलाई मात्र अनुमति दिएका छौ,’डिएसपी सुमन तिम्सिनाले भने,‘गुल्मबाट थप प्रहरी मद्दत मगाएर आजलाई १२ बजेसम्म छुट दिइएको छ ।’