काठमाडौं: जापान सरकारले मंगलबारदेखि विदेशी कामदारको लागि खुल्ला गर्ने नयाँ नीति अंगालेको छ । यसले अन्य मुलुकसँगै नेपालीहरुको लागि पनि जापान रोजागारीको ढोका खुलेको छ ।

जापान सरकारले जापान जान इच्छुक नेपाली कामदारलाई नेपाली भाषामा नै परामर्श दिने नीति ल्याएको छ । यसले नेपाल जापानको उच्च प्राथमिकतामा परेको प्रष्ट्याउछ । जापानले विदेशी कामदार आकर्षित गर्न १२६ वटा नयाँ नीति लागुगरेको छ । जापान सरकारले ठुला मात्र नभै साना सहरहरुमा पनि रोजगार सृर्जना गरेर विदेशी कामदार आकर्षित गर्ने जनाएको छ । नर्सिङ केयर, रेस्टुरेन्ट, निर्माण लगायतका क्षेत्रमा विदेशी कामदारलाई जापान सरकारले प्राथमिकता दिएको छ । कम्तीमा ३ लाख ४५ हजार १५० विदेशी कामदारलाई रोजगार भिषा अन्तर्गत आफ्नो देशमा भित्र्याउने जापानी सरकारको लक्ष्य रहेको छ।

अप्रिल महिनादेखि नर्सिङ केयर, लजिङ्ग तथा रेस्टुरेन्टका लागि भाषा परीक्षा लिने जापान सरकारले जनाएको छ । अनय ११ क्षेत्रमा सन् २०२० को मार्चसम्म क्रमशः परीक्षा लिइनेछ । जापान सरकारले बहुसांस्कृतिक तथा सूचना केन्द्रहरु स्थापना गरेर नेपालीसहित विभिन्न ११ वटा भाषामा विदेशी कामदारलाई परामर्श र प्रशासनिक सहयोग गर्ने भएको छ । अन्य भाषामा जापानी, अंग्रेजी, थाई, चिनियाँ, कोरियन, स्पेनिस, भियतनामी, पोर्चुगिज, इण्डोनेसियन र फिलिपिनी (ट्यागलोग) रहेको छ । जापानी भाषासँग विदेशी कामदारलाई सहज एवं अभ्यस्त गराउन सरकारले भाषा शिक्षकबाट भाषा कक्षा पनि सञ्चालन गराउने भएको छ । जापान सरकारले सन् २०१९ का लागि १६.३ अर्ब जापानी येन विदेशी कामदार ल्याउन बजेट छुट्याएको जनाएको छ।