धरान: अंग्रेजी नयाँ बर्षको अवसरमा चर्चित पर्यटकीयस्थल साँगुरीगढी गाउँपालिका ६, भेडेटारमा आयोजना हुन लागेको सातौं भेडेटार फुड फेस्टिवलमा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई प्रमुख अतिथिकोरुपमा आउने भएका छन् ।

होटल एशोसिएशन भेडेटारको आयोजनामा पुष १६ गतेदेखि १८ गतेसम्म हुने फेस्टिबलमा प्रदेश मुख्यमन्त्री राई प्रमुख अतिथिकोरुपमा आउने निश्चित भएको हो । आयोजक एशोसिएशनका अध्यक्ष जितेन्द्र रुम्दालीको नेतृत्वमा निमन्त्रणा लिएर मंगलबार पुगेको टोलीले भेट गरेपछि मुख्यमन्त्री राई प्रमुख अतिथिकोरुपमा आउने पक्का भएको हो । भेडेटार चोकमा हुने उद्घाटन समारोहमा मुख्यमन्त्री राईले करिब २ घण्टा समय दिनेछन् ।

मध्याह्न १२ बजेपछि भेडेटार आइपुग्ने मुख्यमन्त्री राई उद्घाटन समारोहमा सहभागी भई २ बजेपछि विराटनगर नै फर्कने समय तालिका बनेको छ । ‘हामीले भेट गरेपछि १६ गते उद्घाटनको लागि समय मिल्यो, उहाँ १२ बजेतिर आइपुग्नुहुन्छ, र २ बजेपछि विराटनगर नै फर्कनुहुनेछ,’अध्यक्ष रुम्दालीले भने ।

पार्किङस्थल अभावको पनि निरीक्षण गर्ने

फेस्टिबलको उद्घाटन समारोहमा सहभागी भएपछि मुख्यमन्त्री राईले पर्यटकीयस्थलको पार्किङस्थल अभावको बिषयमा पनि स्थलगत निरीक्षण गर्ने भएका छन् । निम्तो लिएर मंगलबार मुख्यमन्त्री कार्यालय पुगेको एशोसिएशनका टोलीले मुख्यमन्त्रीसँग पार्किङ अभाव र त्यसले पारेको समस्याबारे अवगत गराएका थिए । ‘मुख्यमन्त्री ज्युलाई पार्किङ समस्याबारे पनि कुरा राख्यौ, र प्रदेशले आवश्यक बजेट र योजना दिएर पार्किङ बनाइदिन आग्रह गर्यौ,’रुम्दालीले भने,‘स्थानीय सरकारमार्फत बजेटमा पार्नुपर्ने कुरा गर्नुभयो । उद्घाटनमा आउनुहुदा पार्किङ निरीक्षण गर्ने पनि हुनुभएको छ ।’