धरान:नेपाल सरकारले गत महिना भारतीय सयको नोटबाहेक अन्य नोटको कारोबार नेपालमा प्रतिबन्ध लगाउने निर्णय गर्यो । अंग्रेजी नयाँ बर्षमा ३ दिने भेडेटार फुड फेस्टिबल आयोजना गर्ने तयारीमा जुटेको भेडेटारका पर्यटन एवं होटल व्यावसायीहरु यो निर्णयबाट चिन्तत छन् ।

भेडेटारमा नयाँ बर्षमा आउने पर्यटकहरुमा ९० प्रतिशत भारतीय हुन्छन् । भारतको विहार र पश्चिम वंगालबाट अंग्रेजी नयाँ बर्ष मनाउन पर्यटकहरु भेडेटारमा ओइरिन्छन् । तर, यसपाली नेपाल सरकारले २ सय, ५ सय र १ हजारको नोटको कारोबारमा प्रतिबन्ध लगाएपछि यसपाली भेडेटारको पर्यटन प्रभावित हुने भन्दै व्यावसायीहरु चिन्तित छन् । 'नेपाल सरकारको निर्णयले हामी समस्यामा परेका छौ, नयाँ बर्ष मनाउन आउनेहरु ९० प्रतिशत भारतीय पर्यटक हुन्छन्' एशोसिएशनका अध्यक्ष जितेन्द्र रुम्दालीले भने, 'सय रुपैया मात्र चल्ने भएकोले निकै समस्या होला भन्ने पिर छ ।'

पर्यटन व्यावसायीहरुका अनुसार भेडेटारमा नेपाल वंगलादेश बैंकको एउटा मात्र एटिएम मेशिन छ । यस्तै, करिब ९ वटा होटलमा मात्र कार्ड पोस मेशिन राखिएको छ । ती मेशिन माछापुच्छ्रे, सनराइज, नेपाल इन्भेष्टमेन्ट र एसबिआइ बैंकको छ । तर, भेडेटारको सबै होटलमा उक्त मेशिन नभएकोले डेबिट, क्रेडिट कार्ड भारतीय पर्यटकहरुले सबै होटलमा प्रयोग गर्न पनि पाउदैनन् । 'सरकारको यो निर्णयबाट पर्यटनलाई ठुलो असर पुग्छ, भेडेटारलाई पनि पर्यो । हामी कहाँ आउने भारतीय पर्यटकहरुले सयको नोट मात्र बोकेर आउछन् भन्ने छैन,' निवर्तमान अध्यक्ष लिलाराज लावतीले भने, '२ सय, ५ सय र १ हजारको नोट लिने कि नलिने ? समस्यामा छौ ।'