विराटनगर : प्रदेश १ सरकारले उच्च प्राथमिकता दिइएको जोगवनी किमाथांका व्यापारिक मार्गको निर्माणाधिन खण्डको कार्य चाडै सम्पन्न गर्न सम्बन्धित पक्षलाई निर्देशन दिएको छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालयले बुधबार आयोजना गरेको सडक सम्बन्धि सरोकारवालाहरुसँगको बैठकमा प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राईले ६ लेनको यो सडक निर्माणप्रति चासो व्यक्त गर्दै समयमै काम सम्पन्न गर्न निर्देशन दिएका हुन् । सडक निर्माणमा देखा परेका समस्याको पहिचान र निराकरणका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने मुख्यमन्त्री राईले बताएका थिए ।

विराटनगर प्रदेशको अस्थायी राजधानी रहेको र यस क्षेत्रमा स्वदेशी तथा विदेशी नागरिकहरुको आवतजावत धेरै हुने गरेकोले सहरको सुन्दरता कायम राख्न मुख्य सडक र भित्रि सडकहरु चाडो निर्माण कार्य सम्पन्न गर्न मुख्यमन्त्री राईको निर्देशन थियो । मुख्यमन्त्री राई भौतिक पूर्वाधार विकास मन्त्री समेत हुन् । आउदो साता राष्ट्रपतिको विराटनगर भ्रमण हुदैछ भने फागुनमा साफ महिला फूटवल पनि विराटनगरमा नै हुदैछ । यसको लागि सडक निर्माणमा रहेका वाधा अवरोध हटाएर ससमयमा नै निर्माण कार्य सम्पन्न गर्न मुख्यमन्त्री राईले जोडदिएको उनका प्रेस सल्लाहकार ध्रव सुवेदीले जानकारी दिएका छन् ।

प्रेस सल्लाहकार सुवेदीका अनुसार सो बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की, सम्बन्धित कार्यालयका सचिव, विराटनगर, दुहबी र इटहरी स्थानीय तहका प्रमुख, सडक आयोजनाका प्रमुख, सडक, विद्युत, टेलिकमका प्रमुख, सडक आयोजना जिम्मा लिएका निर्माण व्यवसायी लगायतको उपस्थिति रहेको थियो ।