धरानः पर्यटनको हब बनाएर आन्तरिक एवं बाह्य पर्यटकहरु भित्र्याउने र आर्थिकरुपमा समृद्ध हुने धरानको सपना हो । त्यसैले करिब २ बर्षअघि निवार्चित भएका जनप्रतिनिधिहरुले धरानको पर्यटन विकास र प्रर्वद्धनलाई जोडदिएका थिए ।

धरानको पर्यटनको कुरा गर्दा विजयपुर गढीमा अवस्थित पुरात्तात्विक मठमन्दिर, चिण्डेडाँडा, प्याराग्लाइडिङ, विष्णुपादुका मन्दिरलगायत छन् । अर्को छुटाउनै नहुने धरानको गन्तव्य हो, वगरकोट र त्यहाँको नाइट लाइफ । पछिल्लो समय वगरकोटका व्यवसायीहरुले मात्र होइन, जनप्रतिनिधि र धरानेहरुले महसुस गर्दै आएका छन्, कि धरानमा नाइट लाइफ आवश्यक छ । यसको लागि वगरकोट उपयुक्त ठाउँ हो । अहिले पनि जब साँझ पर्दै जान्छ, तब वगरकोटमा तामझाम शुरु हुन्छ । विगतमा सेकुवाले चर्चित वगरकोटमा हिजोआज खुलेका लाउञ्ज एण्ड बारले यो ठाउँ काठमाण्डौको ठमेलभन्दा कम लाग्दैन । यहाँ राती ११ बजेपछि प्रहरी प्रशासनले सुरक्षाको कारण देखाउदै होटल, रेष्टुरेष्ट बन्द गराउने गरेको छ ।

एक साताअघि मात्र धरान उपमहानगरपालिकाकी कार्यबाहक मेयर मञ्जु भण्डारी सुवेदीले वगरकोटलाई रात्री कालिन बजार बनाउने बताएकी थिइन । स्थानीय सरकार प्रमुखको यो अभिव्यक्तिले उत्साहित एवं आशावादी वनेका व्यवसायीहरु एक सातापछि नै निराश बने । इलाका प्रहरी कार्यालय धरानका प्रमुख एवं डिएसपी सुमन तिम्सिनाले बिहीबार वगरकोटमा नै आयोजित कार्यक्रममा संवेदनशील क्षेत्रहरुलाई पनि निगरानी गर्नुपर्ने भएकोले वगरकोटलाई मात्र सुरक्षा दिन नसक्ने बताए ।

dsp timsina copy

एचआइभी प्रभावित बालबालिकाहरुको शिक्षाको लागि अक्षयकोषमा च्यारिटी रकम हस्तान्तरण कार्यक्रममा व्यावसायीहरुसँग डिएसपी तिम्सिनाले जनशक्ति अभावको कारण वगरकोटमा मात्र चौबिसै घण्टा सुरक्षामा प्रहरी खटाउन नसकिने बताए । होटल एशोसिएशन मातहतका होटलहरु धरानमा राती ११ बजेसम्म खुला गर्न दिइएको भन्दै उनले ११ बजेपछि सबै होटलहरु बन्द गर्नुको विकल्प नभएको पनि उनले खुलाए । ‘वगरकोटलाई मात्र खोल्न दिने कुरा हुदैन । धरानका सबै होटलहरु राती ११ भित्र बन्द भइसक्नुपर्छ, जो सुकै भिआइपि होस्, बगरकोटलाई मात्र भनेर सुरक्षा दिन मिल्दैन, नियम सबैलाई एउटै हो,’डिएसपी तिम्सिनाले भने ।

वगरकोट मात्र नभएर धरानका निशाने डाडा, झोलुङे पुललगायतका संवेदनशील क्षेत्रमा पनि प्रहरी परिचालन गर्नुपर्ने डिएसपी तिम्सिनाको भनाई थियो । वगरकोटलाई मात्र प्रहरीले निगरानी राखेको भन्ने कुरा गलत रहेको पनि उनले बताए । ‘मानिसको जमघट अलिक बाक्लो जहाँ हुन्छ, त्यहाँ अपराधिक घटना हुन्छ, अहिले पनि खुकुरी बोक्ने यतै भेटिन्छ, त्यसैले अलिक संवेदनशील एरिया भएकोले निगरानी त गर्नैपर्छ,’ डिएसपी तिम्सिनाले भने,‘बगरकोट होटल व्यवसायीहरुले छुट्टै संघ दर्ता गदै गरेको भन्ने सुन्नमा आएको छ, विधान अनुसार त्यस्तो भएछ भने छलफल गरौला, त्यसपछि थप जनशक्ति माग्ने काम गरौला ।’ उनका अनुसार इलाका प्रहरी कार्यालय धरानमा १ सय ४१ जनाको दरबन्दी रहेको छ ।