विराटनगर : छिमेकी केदार पराजुलीले १९ लाख रुपैयाँ ऋण लिएर फरार भएपछि न्याय खोज्दै विराटनगर–३ का सेमन्त राज अधिकारी अदालत पुगे । अदालतले अधिकारीकै पक्षमा फैसला गर्यो । न्यायधिस नवराज दाहालको इजलासले पराजुलीले अधिकारीलाई चार वर्षको साँवा र ब्याज गरी करिब २६ लाख भुक्तानी गर्नुपर्ने फैसला गर्यो ।

भारत बस्दै आएका पराजुलीको नाममा १४ लाख ९३ हजार रुपैयाँ अदालतमा जम्मा थियो । अदालतको फैसलाबाट पाउनुपर्ने २६ लाखमध्ये १५ लाख जति पाउने आसमा बसेका अधिकारी अहिले निरास छन् । अदालतका कर्मचारीले मिलेमत्तोमा रोक्का रहेको रकम सुटुक्क पराजुलीलाई नै भुक्तनी दिएपछि अधिकारी निरास भएका छन् ।

हातमा आउनै लागेको रकम फुत्किएपछि अधिकारी दैनिकजसो अदालत धाईरहेका छन् । तर, उनले न्यायको अनुभुती गर्न पाएको छैनन् । ‘रातमा निद्रा पनि लाग्दैन’ उनले भने ‘थोरै
पैसा भए त छोड्न सकिन्थ्यो । तर, धेरै छ ।’ अदालतबाट न्याय पाए पनि कर्मचारीले आफुलाई अन्याय गरेको उनको गुनासो छ । छिमेकी पराजुलीले पाँच महिनाभित्र फिर्ता गर्ने भन्दै २०७१ सा भदौमा १९ लाख रुपैयाँ लगेका थिए । तर, पैसा नतिरी पराजुली भारत भागेपछि अधिकारी अदालत सम्म पुगेका हुन् ।
पराजुलीविरुद्ध अधिकारीकी श्रीमती विष्णुमायाँले २०७४ फागुन २९ गत्ते लेनदेन मुद्दा दायर गरेकी थिईन् । लेनदेन मुद्दामा गत फागुन ३० गत्ते पराजुलीका नाममा रहेको धरौटी रकम रोक्का गर्न आदेश दिएको अदालतले अधिकारीकै पक्षमा फैसला गरेको थियो । तर फैसला विपरित अभिलेख शाखाबाट श्रेस्तेदार ईश्वरमणि ओझाले पराजुलीको नाममा रहेको १४ लाख ९३ हजार फिर्ता गर्ने टिप्पण्ी आदेश दिएका थिए । अदालतको फैसलाविपरीत प्रतिवादीलाई रकम फिर्ता गएपछि लेखा शाखा र अभिलेख शाखालाई स्पष्टिकरण सोधिएको थियो । यो समाचारलाई आज उद्घोष दैनिक पत्रिकाले प्रकाशित गरेको छ ।