इटहरी: यहि पुष १९ गतेदेखि सभामुख कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।

आयोजक सुनसरी जिल्ला खेलकुद विकास समितिले शनिबार इटहरीमा पत्रकार सम्मेलन गरी उक्त प्रतियोगीताबारे जानकारी दिएको हो । भलिबल खेल नेपालको राष्ट्रिय खेल भएकाले संरक्षण एवं विकास गर्ने उद्देश्यले उक्त प्रतियोगीताको आयोजना गरिएको समितिका अध्यक्ष अनुरोध थापाले जानकारी दिए । प्रतियोगितामा सातै प्रदेशका दश वटा टीमको सहभागिता रहने पनि उनले बताए । इटहरीको क्षेत्रीय रंगशालामा ५ दिन सम्म उक्त प्रतियोगीता सञ्चालन हुनेछ ।

खेलको बिजेताले ४ लाख नगदसहित मेडल तथा प्रमाण पत्र हात पार्नेछन् । यस्तै, दोस्रो र तेस्रो हुने टीमले क्रमश: २ लाख र १ लाख नगदसहित मेडल तथा प्रमाण पत्र हात पार्ने पनि आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडी, स्पाइकर, बलर, सेटर, डिफेन्डर र सर्वर लाई नगद तथा प्रमाण पत्रका साथ सम्मान गरिने बताइएको छ । प्रतियोगीता सम्पन्न गर्नका लागि करीब २७ लाख खर्च हुने अनुमान गरिएको छ ।