धरान: धरान १८, निर्वाणा कन्ट्री क्लब गल्फ कोर्षमा शुक्रबार सुर्य नेपाल इष्टर्न ओपन गल्फ प्रतियोगिताको फाइनल खेल चलिरहेको थियो । केही सिमित दर्शकहरुमा एक जना फरक दर्शक पनि थिए, जो आफ्नो छोराको खेललाई नियाल्न झण्डै ४ दशकपछि गल्फ कोर्षमा पाइला टेकेका थिए ।

छोराले सट, चिप, पट गरेको उनी परैबाट हेर्थे । घरी घरी ताली बजाउथे । उनको ताली छोराको खेलमा मात्र हुदैनथ्यो । अरु खेलाडीले पनि राम्रो खेल्दा ताली बजाएर हौसला दिन्थे । एक जना एमेच्योर खेलाडीले उनी शुक्रबहादुर राईको बाबा हुन् भनेर देखाएपनि सञ्चारकर्मीरु नजिक गयौ । ‘खेलाडीलाई ताली बजाउदा हौसला मिल्छ नी,’उनले कपुरी न्यूजसँगको कुराकानीमा भने ।
उनी थिए, ५६ बर्षीय धरान १९ जिमी मार्ग निवासी लक्षुमण राई । जो हिजो शुक्रबार सम्पन्न भएको इष्टर्न ओपन २०१८ को ओभरअल च्याम्पियन २० बर्षीय शुक्रबहादुरका बुबा पिता हुन् । उनी छोराको फाइनल खेल हेर्न ४० बर्षपछि गल्फ कोर्षमा छिरेका थिए । नेपालका नम्वर वान प्रोफेस्नल गल्फर शिवराम श्रेष्ठलाई पनि पछि पार्दै खेलिरहेका आफ्नो छोराप्रति उनलाई असिमित खुशी र गर्व महसुस भइरहेको थियो । उनको अनुहारमा त्यो खुशी झल्किए पनि त्यसलाई कसरी व्यक्त गर्ने, उनले भेउ पाइरहेका थिएनन् ।

IMG_8390 copy

क्याडी गर्दा गर्दै छोरा(शुक्रबहादुर) एसएलसी दिने बेला त गल्फ खेल्न थालिसकेका थिए । अहिले छोराले देश, विदेशमा गल्फ खेलेर पाएको सफलताबाट उनी खुशी छन् । भन्छन्, ‘छोराले आफ्नो नाम राख्यो, देशको पनि नाम राख्यो ।’ लक्षुमन आफै पनि उमेर १५, १६ बर्षको हुदा गल्फ कोर्षमा गोराहरुको क्याडी थिए । बीचमा १, २ पटक अक्कलझुक्कल गल्फ कोर्ष छिरे । त्यसपछि, झण्डै ४० बर्षको अन्तरालमा हिजो शुक्रबार छोराको खेल हेर्न उनी कोर्ष छिरेका थिए । ज्याला मजदुरी गरेर २ छोरा र एक छोरी हुर्काएका उनी अहिले पनि जेठा छोरासँगै मजदुरी गरेर परिवार पाल्छन् ।

IMG_8393 copy

शुक्रबार छोरा(शुक्रबहादुर)ले १७ औ होलमा वर्डी गर्दै शिवराम श्रेष्ठभन्दा ५ स्ट्रोकले अग्रता लिएर ओभरअल च्याम्पियन हुने पक्का भयो । बाँकी थियो, अन्तिम १८ औं होल । उनी त्यो होलको खेल हुदासम्म कोर्षमा नै थिए । जब अन्तिम होलको खेल सकियो, एमेच्योर खेलाडीले ओभरअल च्याम्पियन हुदै इतिहास रचेका शुक्रबहादुरलाई सबैले बधाई दिन थाले । प्रोफेस्नल खेलाडी सविन सापकोटाले त उनलाई उचालेर खुशी साटे । शुक्रबहादुरलाई बधाईको ओइरो लाग्यो ।

अन्तिम होलसम्म छोराको खेल हेरेका लक्षुमण अन्त्यमा पुरस्कार वितरण समारोहमा भने कतै देखिएनन् । छोराले ट्रफी उचालेपछि बुबा छोरालाई सँगै उभ्याएर फोटो खिच्ने पत्रकारहरुको सपना अधुरै रह्यो । छोराको दुर्लभ सफलताको खुशीमा सायद उनले आँशु थाम्न सकेनन्, र त्यसलाई लुकाउन आफै लुके ।

IMG_8399 copy

xdeUntitled-1 copy 1