धनकुटा: धनकुटाबाट धरान जाँदै गरेको ट्रक धनकुटा–६ पात्लेखोलामा शनिवार साँझ पल्टिदा एक जनाको मृत्यु भएको छ ।

बाँस लोड गरेको बा ३ ख ६१५१ नम्बरको ट्रक ब्रेक फेल भई सडकमा पल्टिदा बाँसले लागेर पैदल यात्री ६२ बर्षीय गुरुप्रसाद दाहालको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय धनकुटा प्रमुख असई सुरेन्द्र खड्काले जानकारी दिए । घाइते भएका दाहालको धनकुटा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

उक्त दुर्घटनामा घाइते भएका ट्रकका सह–चालकको धनकुटा अस्पतालमा उपचार भइरहेको छ । ट्रकका चालकलाई नियन्त्रणमा लएको प्रहरीले जनाएको छ । सडकमा ट्रक पल्टिए पछि अहिले धनकुटामा कोशी राजमार्गमा सडक जाम भएको छ । सडक जामलाई ट्राफिक प्रहरीले खुलाउन प्रयास गरिरहेको असई खड्काले बताए ।