धरान: सुर्य नेपाल इष्टर्न ओपन गल्फ प्रतियोगिताअन्र्तगत शनिबार सम्पन्न प्रे एम स्पर्धामा प्रोफेस्नल गल्फर शिवराम श्रेष्ठको टिम प्रथम भएको छ ।

शनिबार निर्वाणा कन्ट्री क्लब गल्फ कोर्षमा सम्पन्न प्रो एम स्पर्धामा कुल १५२ अंक बटुल्दै शिवरामको टिम प्रथम भएको हो । शिवरामले ३७ बटुलेका थिए भने एमेच्योर गल्फर समीर आचार्यले ४२, रितेश तामाङले ३७ र टेकबहादुर राईले ३६ अंक खेलेका थिए । यसैगरि, १४१ अंकसहित प्रोफेस्नल गल्फर शिवकुमार माझीको टिम उपविजेता भयो । उनले ३६ अंक खेल्दा टिमका एमेच्योरहरु बि.एम.सुनुवारले ३६, बविन्द्र राईले ३५ र राजेश राईले ३४ बटुलेका थिए ।

aIMG_8455

यसैगरी, प्रोफेस्नल दिपक मगरको टिमले १३६ अंकका साथ तेस्रो भयो । उनले ३५ अंक खेल्दा बम लिम्बूले ३५, विरेन लिम्बूले ३४ र नोर्किन पाख्रिनले ३३ अंक खेलेका थिए । सो स्पर्धामा क्लोजेट टु दि पिनको पुरस्कार १७ औं होलमा सुमन बास्ताकोटीले जिते भने लंगेष्ट ड्राइभको पुरस्कार १८ औ होलमा रितेश तामाङले जिते । स्पर्धामा कुल ३६ खेलाडी सहभागी थिए । जसमा ९ जना प्रोफेस्नल थिए ।
विजेता खेलाडीहरुलाई नेपाल गल्फ संघका केन्द्रीय उपाध्यक्ष तिलक राई, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा.राजकुमार रौनियार, धरान वडा नं १८ का अध्यक्ष प्रविण राई, सुनसरी गल्फ संघका अध्यक्ष डिबि राईलगायतले ट्रफी वितरण गरेका थिए । इष्टर्न ओपनको मुख्य स्पर्धा भने शुक्रबार सम्पन्न भएको थियो । जसमा धराने युवा एमेच्योर खेलाडी शुक्रबहादुर राईले ओभरअल विजेता हुदै प्रोफेस्नलको ट्रफी पनि जितेका थिए ।

IMG_8454 copy