धरान: अघिल्लो दिन सुर्य नेपाल इष्टर्न ओपनमा ओभरअल च्याम्पियन हुदै इतिहास बनाएका एमेच्योर खेलाडी शुक्रबहादुर राई र उनको अभिभावकलाई शनिबार अर्को खुशी हात पर्यो ।

करिब ६ महिनादेखि निर्माणाधिन नयाँ पक्की घर शनिबार औपचारिकरुपमा उनीहरुलाई हस्तान्तरण भयो । प्रतिभाशाली गल्फ खेलाडी शुक्रको घर निर्माणको अभियन्ता धरान गल्फ क्लब, नेपाल गल्फ संघले शनिबार एक कार्यक्रम गरी घर हस्तान्तरण गरेको थियो । कार्यक्रमका प्रमुख अतिथि रहेका बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.राजकुमार रौनियारले नवनिर्मित घरको ताला चाबी शुक्रबहादुर र उनका बुबा लक्ष्मण राईलाई हस्तान्तरण गरेका थिए ।

IMG_20181229_145601 copy 1

यो घर धरान गल्फ क्लबका पदाधिकारी, नेपाल गल्फ संघका केन्द्रीय उपाध्यक्ष तिलक राईको बिशेष पहलमा निर्माण सम्पन्न भएको हो । घर निर्माणको लागि नेपाल प्रोफेस्नल गल्फर्स एशोसिएशन, सिंगापुर र युकेमा रहेका गल्फरहरुको पनि बिशेष योगदान रहेको छ । धरान १९, जिमी मार्गमा रहेको ७ धुर जमिनमा ३ वटा कोठा भएको पक्की घर निर्माण भएको छ । क्लबका कोषाध्यक्ष राजु राईका अनुसार घर निर्माणको लागि कुल ८ लाख ८२ हजार सहयोग जुटेको थियो भने ८ लाख जति खर्च भएको छ ।
घर बनाउन युकेस्थित प्रेसिडेन्ट अफ गुर्खाज गल्फ सोसाइटीबाट १ लाख ६० हजार २ सय ३०, गोर्खा कन्टिजेन्ट सिंगापुर पुलिस फोर्स(जिसिएसपिएफ)बाट १ लाख ५४ हजार, एनजिएबाट ४ लाख, लेखीराज सुब्बाबाट ५० हजार, खेमकुमार राईबाट ५० हजार, बबी राईबाट ३० हजार, क्लबका अध्यक्ष टिका लिम्बूबाट २५ हजार सहयोग भएको थियो । घर तयार भएपनि आवश्यक अन्य सामाग्रीहरु व्यवस्थापन गर्न बाँकी रहेकोले अझै खर्च आवश्यक हुने क्लबका सचिव जितेन्द्र राईले बताए ।

image1.jpeg copy

नयाँ घर बनाउन शुरु गरेपनि आर्थिक समस्याले पिरोलिएको थाह पाएपछि आफुहरुले सहयोग गरेको नेपाल गल्फ संघका केन्द्रीय उपाध्यक्ष तिलक राईले बताए । ‘एउटा प्रतिभाशाली खेलाडीको घरको अवस्थाबारे थाह पाएपछि सहयोग गर्नुपर्छ भन्ने लागेर अभियान चलायौ, सबैको सहयोगबाट सम्भव भयो,’उपाध्यक्ष राईले भने,‘इमान्दार र लगनशील खेलाडीलाई सहयोग गर्न सक्यौ, खुशी छौ ।’ सबैको सहयोगबाट नयाँ पक्की घर निर्माण भएपछि शुक्र र उनका बुबा पनि दंग छन् । ‘एकदमै खुशी लागिरहेको छ, सहयोग गर्नुहुने देश विदेशका सबैलाई धन्यवाद दिन चाहन्छु,’शुक्रले भने ।

IMG_20181229_141150 copy

क्याडी गर्दा गर्दै ४ बर्षअघिदेखि प्रतियोगिता खेल्न थालेका शुक्रबहादुर एमेच्योरतर्फ नेपालकै नम्बर वान खेलाडी हुन् । शुक्रबार नेपालकै नम्बर वान प्रोफेस्नल खेलाडी शिवराम श्रेष्ठलाई पनि पछि पार्दै उनले ओभरअल विजेता बनेर एमेच्योर र प्रो दुवै च्याम्पियन ट्रफी नै उचालेका थिए । घर हस्तान्तरण समारोहमा पुर्वलाहुर एवं गल्फर तेजबहादुर राईले शुक्रबहादुरलाई ५० हजार सहयोग गर्ने घोषणा गरे । यस्तै, प्रमुख अतिथि रहेका बिपी प्रतिष्ठानका उपकुलपति डा.राजकुमार रौनियारले पनि २० हजार रुपैया व्यक्तिगत सहयोग दिने बताए । नेपाल गल्फ संघले पनि ओभरअल विजेता हुने एमेच्योर खेलाडीलाई नगद पुरस्कार दिने घोषणा गरेको संघका उपाध्यक्ष तिलक राईले जानकारी दिए ।

IMG_20181229_142156 copy IMG_20181229_142228 copy IMG_20181229_145922 copy