धरान: प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले तीनै तहको सरकारले विकास र समृद्धिको मुख्य एजेण्डा लिएर अघि बढीरहेको भन्दै पत्रकार महासंघ र आम पत्रकारिता क्षेत्रले स्थायी एवं जिम्मेवार प्रतिपक्षको भुमिका खेल्नुपर्ने बताएका छन् ।

आइतबार धरान १३, अमरहाटस्थित नेपाल पत्रकार महासंघ सुनसरीको भवन उद्घाटन तथा सप्ताहव्यापी कार्यक्रमको शुरुवात समारोहमा बोल्दै मुख्यमन्त्री राईले महासंघ र पत्रकारिता क्षेत्रलाई रचनात्मक भुमिका खेल्न आग्रह पनि गरे । ‘अत्र पत्रकार महासंघले स्थायी, जिम्मेवार प्रतिपक्षको भुमिका खेल्नुपर्दछ, रचनात्मक भुमिकामा आपुलाई उतार्नु सक्नुपर्दछ । वाच डगको भुमिकामा उभ्याउन सक्नुपर्दछ,’ मुख्यमन्त्री राईले भने,‘पत्रकार महासंघले देशव्यापीरुपमा नयाँ ढंगबाट अपडेट गरेर पत्रकारितालाई मर्यादित, जिम्मेवार बनाउन, सामाजिक उत्तरदायित्व वहन गर्ने भुमिकामा उभ्याउनुपर्दछ ।’

प्रविधिको तीब्र विकाससँगै त्यसको प्रभाव नेपाल र नेपाली मिडियामा परेको उल्लेख गर्दै मुख्यमन्त्री राईले सञ्चारमाध्यममा थुप्रै विकृतिहरु भएको पनि बताए । त्यसबाट जोगाउन जिम्मेवार र मर्यादित पत्रकारितालाई अघि बढाउन महासंघको भुमिका ठुलो हुने पनि मुख्यमन्त्री राईले बताए ।

पत्रकारले संघर्ष गर्नुपर्दैन

aIMG_8526

नेपाल सरकारका पुर्वसञ्चारमन्त्री पनि रहीसकेका मुख्यन्त्री राईले अब पत्रकार महासंघ तथा पत्रकारहरुले फेरी पेशागत हकहित, अधिकारको लागि संघर्ष गर्नु नपर्ने पनि बताए । साथै, उनले सञ्चार माध्यमलाई अहित हुने गरी एवं अंकुश लाग्ने गरी कुनै पनि कानुन, ऐन नबने पनि प्रष्ट पारे ।कही कतै भुलवश ड्राफ्टमा भए, भुलवश पारित हुदै गर्दा वा पारित भएका नीतिहरुमा भएको कमजोरीलाई तत्काल सच्याउनको निम्ति पत्रकार महासंघले खबरदारी गर्न पनि मुख्यमन्त्री राईले आग्रह गरे । 

‘अब पत्रकारहरुले कुनै पनि प्रकारको संघर्ष गर्नुपदैन, वलिदान गर्नुपदैन । कही कतै सञ्चारमाध्यमलाई, आम श्रमजिवि पत्रकारहरुलाई अहित हुने गरी, अंकुश लगाउने गरी,खम्च्याउने गरी, दमन गर्ने गरी कुनै पनि प्रकारको कानुन बन्ने छैन, ऐन बन्ने छैन,’मुख्यमन्त्री राईले भने,‘किनभने यो व्यवस्था, यो प्रणाली हामीले ल्याएको हो । यो प्रणाली ल्याउन हामीले महत्वपुर्ण भुमिका खेलेका छौ । मैले जति भुमिका खेलेको छुँ, तपाईले सञ्चारमाध्यामको हैसियतबाट, एउटा पत्रकारको हैसियतबाट त्यतिकै बराबर भुमिका खेल्नुभएको छ ।’