धरान: प्रदेश नं १ का मुुख्यमन्त्री शेरधन राईले धरानमा जनसहभागितामा निर्माणाधिन पुर्वाञ्चल आसरा सुधार केन्द्र र इलाका प्रहरी कार्यालय हिरासत भवनलाई प्रदेश सरकारसबाट सहयोग गर्ने वचन दिएका छन् ।

आइतबार पत्रकार महासंघ सुनसरीको भवन तथा साधारणसभा उद्घाटनमा सहभागी हुन धरान आएका मुख्यमन्त्री राईले सोही समारोहमा निर्माणाधिन आसरालाई र हिरासत भवनको टिमसँगको छुट्टै भेटमा हिरासत भवनलाई बजेट विनियोजन गर्ने वचन दिएका हुन् । इलाका प्रहरी कार्यालय परिसरमा निर्माण भइरहेको हिरासत भवन निर्माणको टोलीले पनि मुख्यमन्त्री राईसँग अलग्गै भेट गर्दै प्रदेश सरकारसँग बजेटको माग गरेको थियो । धरान १८, बुद्ध चोकस्थित मुख्यमन्त्री राईका आफन्त(दिदी) माया राईको घरमा भवन निर्माण टोलीले भेट गर्दै जनसहभागितामा निर्माण भइरहेको जानकारी दिदै निर्माण संयोजक मिन सुब्बाले प्रदेश सरकारबाट सहयोग गर्न आग्रह गरेका थिए । डिएसपी सुमन तिम्सिनाले १८ बर्ष मुनिका किसोर किसोरीहरु अपराधिक गतिविधिमा संलग्न भएको र उनीहरुलाई सुधार गर्न बालसुधार गृहकोरुपमा पनि सञ्चालन गर्नुपर्ने आवश्यक देखिएकोले सरकारबाट सहयोगको खाँचो रहेको बताएका थिए ।

48428206_1108616309300493_7263412476383854592_n copy

मुख्यमन्त्री राईले हिरासत भवन निर्माणप्रति आफु सकरात्मक रहेको भन्दै प्रस्ताव वमोजिम बजेट दिने बताए । निर्माण समितिले आइतबार मुख्यमन्त्री राईलाई ५० लाख बजेट माग गर्दै प्रस्ताव पेश गरेका थिए । ‘तपाईहरुले यो राम्रो काम गरिरहनु भएको छ, म सकरात्मक छु । अन्त्र मन्त्रीसँग पनि छलफल गरेर बजेट विनियोजन गर्न लगाउछुँ,’मुख्यमन्त्री राईले भने ।इलाका प्रहरी परिसरमा छुट्टा छुट्टै अपराधमा संलग्न अभियुक्तहरुलाई अलग्गै राख्ने सुविधासहित हिरासत भवन निर्माण भइरहेको छ । अहिले करिब ४० जना क्षमताको हिरासत कक्षमा सयको हाराहारीमा बन्दीहरु रहने गरेका छन् । जसले गर्दा हिरासतमा रहेकाहरुको अवस्था ज्यादै कष्टकर हुने गरेको छ ।

हिरासत भवन निर्माण टोलीसँग भेट्नुअघि  महासंघको भवन उद्घाटन समारोहमा आसरा भवन निर्माण समिति संयोजक मनोज कुमार मेन्याङ्बोले सांसद तथा प्रदेश सरकारबाट सहयोग नभएको भन्दै चर्को असन्तुष्टी व्यक्त गरेका थिए । धरान दानवीरहरुको सहर भएको र धरान यहीको जनताले आफै बनाएको सुनाउदै पुर्वमेयरसमेत रहेका मेन्याङ्बोले २ करोड ४० लाख लागतको आसरा भवन बनाउन जनताले नै लगानी गरिरहेको भन्दै प्रदेश सरकारसँग १५, २० लाख माग गरेका थिए ।

IMG_20181230_141134 copy

प्रदेश सरकारबाट उक्त रकम पाए २ सय जनालाई एकै पटक उपचार गर्ने ५ तारे सरहको सेवा सुविधा तथा अस्पतालमा पाउने सबै सुविधा पनि हुने मेन्याङ्बोले बताएका थिए । पुर्वएमाले, पुर्वमाओवादी र कांग्रेसका कोही पनि सांसदहरुबाट सहयोग नभएको तर राप्रपाको रामकुमार सुब्बाले मात्र १ लाख दिएको भन्दै उनले नेताहरुको पनि आलोचना गरे । त्यसपछि आफ्नो मन्तव्यको क्रममा मुख्यमन्त्री राईले प्रस्ताव लिएर आउन आग्रह गर्दै मेन्याङ्बोले भनेजति रकम दिने आश्वासन दिए । ‘१५, २० लाखमा फाइभ स्टार सरह आसरा बन्छ, र भवन पुर्ण हुन्छ भने प्रस्ताव लिएर आउनुस्, सम्बन्धित मन्त्रीसँग कुरा गरेर म बजेट व्यवस्था गरिदिन्छु,’मुख्यमन्त्री राईले भने ।

धरान ६ पानवारीमा एकै पटक २ सय दुव्र्यसनीको उपचार गर्ने क्षमताको आसरा केन्द्र भवन बनिरहेको छ । यो नेपाल प्रहरी श्रीमति संघले काठमाण्डौंमा सञ्चालन गरेको आसराको शाखा हो । जनताको लगानीमा निर्माण सम्पन्न हुन लागेको यो भवन प्रदेश नं १ प्रहरी मातहत सञ्चालन गर्ने तयारी रहेको पनि निर्माण संयोजक मेन्याङ्बोले जानकारी दिए ।

49172802_1842618912531659_2889971115659100160_n copy