तेह्रथुम:तेह्रथुमको आठराई गाउँपालिकाले वडा कार्यालयमै पुगेर योजना सम्झौता तथा उपभोक्ता सचेतना कार्यक्रम गरेको छ ।

गाउँपालिकाले योजना सन्चालन र त्यसको प्रभावकारिता बढाउन सबै वडा कार्यालयहरुमै पुगेर योजना सन्चालनका विषयमा उपभोक्ताहरुलाई प्रशिक्षण गरेको छ । सो क्रममा उपभोक्ता समितिसँग योजना कार्यान्वयनकालागि सम्झौता समेत गरिएको छ । उपभोक्ताहरुलाई योजनाको उपभोक्ता समिति गठनदेखि भुक्तानीको अवधिसम्म गर्नुपर्ने काम र प्रक्रियाबारे बुझाइएको गाउँपालिकाका प्रमुख प्रशाशकीय अधिकृत राजेन्द्र दाहालले बताए । उनका अनुसार उपभोक्ताहरुलाई योजना कार्यान्वयन गर्दा ध्यान पु¥याउनुपर्ने कुराहरुका बारेमा समेत जानकारी गराइएको छ ।

जिल्लाका साविकका सक्रान्तिबजार, खाम्लालुङ, थोक्लुङ, चुहानडाँडा, छातेढुंगा, इवा र ह्वाकु गरी सात गाविस गाभेर आठराई गाउँपालिका गठन भएको थियो । साविकका एक गाविस एक वडा बनाइएकाले गाउँपालिकामा सात वटै वडा रहेका छन् । सबै वडा कार्यालयमा पुगेर एक सय भन्दा बढी योजनाहरुको योजना सम्झौता भएको प्रमुख प्रशाशकीय अधिकृत दाहालले बताए । योजना कार्यान्वयनमा पारदर्शी बनाउन समेत आग्रह गरिएको उनले बताए ।

गाउँपालिकाले उपभोक्ता समितिलाई बैंक खाता सन्चालन गर्न समेत गाउँ गाउँबाटै सेवा उपलब्ध गराइरहेको छ । बैंकसँग सहकार्य गरी उपभोक्ता समितिको सहजताका लागि गाउँ गाउँबाटै बैंक समेत खोल्ने प्रबन्ध मिलाइएको गाउँपालिकाका वडासचिव चित्रकुमार भटराईले बताए । गाउँपालिकाले आर्थिक वर्षको अन्तिममा खर्च गर्ने परिपाटीको अन्त्य गर्न सबै जनप्रतिनिधि र उपभोक्ताहरुमाझ जोड दिएको गाउँपालिकाका अध्यक्ष मानबहादुर लिम्बुले बताए ।