धरान: बिशेष गरी भारतीय पर्यटकहरुलाई लक्षित गरी सातौ भेडेटार फुड फेस्टिवल शुरु भएको छ । एक समारोहबीच प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सोमबार फेस्टिवलको उदघाटन गरेका छन् ।

फेस्टिवल उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले भेडेटारलाई प्रदेश नं १ कै प्रमुख पर्यटकीय गन्तव्य बनाउने बताए । भेडेटार र यहाँको पर्यटन विकास प्रदेश सरकारको प्राथमिकतामा परेको उल्लेख गर्दै मुख्यमन्त्री राईले भेडेटार र यहाँको पर्यटन विकास हुने कुरामा ढुक्का हुन पनि स्थानीयबासीलाई आग्रह गरेका थिए । ‘स्थानीय सरकार घर आँगनमा छ, अलिक तलतिर प्रदेश सरकार छ । आजको दिनबाट तपाईहरु ढुक्क हुनुहोस्, भेडेटार र यहाँको पर्यटन विकास प्रदेश सरकारको उच्च प्राथमिकतामा परेको छ,’मुख्यमन्त्री राईले भने,‘भेडेटारको विकास हामी गछौ, प्रदेश नं १ कै प्रमुख पर्यटकीय गन्तव्य बनाउने सोच र योजना बनाएका छौ ।’

aIMG_8590

प्रदेश सरकारसँग पर्यटनको कार्यक्रम, योजना र बजेट पनि रहेको भन्दै मुख्यमन्त्री राईले सहकार्यको लागि निजी क्षेत्र र गाउँपालिकालाई पनि मञ्चबाटै आह्वान गरे । आफु यही सन्देश लिएर फुड फेस्टिवलको उद्घाटन गर्न आएको भन्दै मुख्यमन्त्री राईले भने,‘निजी क्षेत्रले योजनासहित प्रदेश र स्थानीय सरकारसँग सहकार्य गर्न तयार हुनुपर्यो ।’ मुख्यमन्त्री राईले प्रदेशको आर्थिक समृद्धिको मुख्य आधार नै पर्यटन भएकोले भेडेटारजस्तै अन्य पर्यटकीय ठाउँहरुको विकास गर्न चाहेको पनि बताए ।

साँगुरीगढी गाउँपालिकालाई प्रदेश सरकारले पर्यटकीय गाउँपालिका त्यसै घोषणा नगरेको भन्दै मुख्यमन्त्री राईले पर्यटनको स्पष्ट खाकासहितको गुरुयोजना लिएर प्रदेश सरकारलाई प्रस्तुत गर्न पनि गाउँपालिकालाई मञ्चबाटै आह्वान गरे । ‘पर्यटनको योजना के के छन्, गुरुयोजनासहित प्रस्तुत गर्नुस्, ढिलाई नगर्नुस् । प्रदेश सरकारले पहिलो प्राथमिकतामा राख्छ,’मुख्यमन्त्री राईले भने ।

यति पुर्वाधारले पुग्दैन

aS6390016

मुख्यमन्त्री राईले भेडेटारमा भएको अहिलेको क्षमता र पुर्वाधारले मात्र पर्यटकहरुलाई नथाम्ने बताए । उनले भेडेटारमा पुर्वाधार र सुविधाको वृद्धिसँगै योजनावद्धरुपले पर्यटकीय गन्तव्यहरुको पनि विकास गर्नुपर्ने बताए । यसमा प्रदेश सरकारले मन खोलेर सहयोग गर्ने पनि मुख्यमन्त्री राईको प्रतिवद्धता थियो ।

मुख्यमन्त्री राईले भने,‘यति मात्र क्षमता, पुर्वाधार र सुविधाले पुग्दैन । योजनावद्धरुपमा विकास गर्नुपर्छ । नाम्जे र नमस्ते झरनाले मात्र हुदैन, ठुला योजनाहरु पुर्वाधारसहितको विकास गर्न प्रदेश सरकार तयार छ ।’ मुख्यमन्त्री राईले भेडेटारमा ठुला होटल, रिसोर्ट र पार्क बन्नुपर्ने पनि बताए । पर्यटन विकासको लागि नै भेडेटारमा केवलकारको योजना प्रदेश सरकारले ल्याएको मुख्यमन्त्री राईको भनाई छ ।

aIMG_8560