झापाः राष्ट्रपति विद्यादेवी भण्डारीले आज झापाको गौरादहस्थित नमूना कृषि परियोजनाको हेलिकप्टरबाट अवलोकन गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले गौरादह नगरपालिका–५ स्थित महारानीझोडा महिला कृषि सहकारी संस्थामा आबद्ध साना किसानद्धारा प्रर्वद्धन गरिएको एक सय बिघा जग्गामा सञ्चालित नमूना कृषि परियोजनाको अवलोकन गरेका हुन् । परियोजना स्थलमा गहुँ, मकै र कोदो खेती लगाइएको छ । राष्ट्रपति भण्डारीले परियोजनाको हेलिकप्टरबाट हवाइ अवलोकन गरेकी हुन् ।

परियोजना स्थलमा राष्ट्रपति भण्डारीलाई प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्की, गौरादह नगरपालिकाका नगर प्रमुख रोहितकुमार साह, साना किसान बैंकका महाप्रबन्धक कृष्णप्रसाद लामिछाने लगायतले स्वागत गरेका थिए । राष्ट्रपति भण्डारीले आजै झापाको शिवसताक्षी नगरपालिका–४ स्थित चन्द्रडाँगी कृषि फार्मको समेत अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

कृषि फार्म चौरासी बिघा क्षेत्रफलमा फैलिएको छ । फार्मलाई कृषि विश्वविद्यालय बनाउने पहल भइरहेका बेला राष्ट्रपति भण्डारी अवलोकन गर्न आउने खबरले स्थानीयवासी उत्साहित बनेको कृषि फार्म सञ्चालक समितिका पूर्व अध्यक्ष ढुण्डीराज गुरागाईं बताए ।