पथरी: मुना मगरले गरेको एक मात्र गोल निर्णायक भएपछि पथरीशनिश्चरेले प्रथम नगर स्तरिय महिला फुटबल प्रतियोगिताको उपाधी जितेको छ ।

मोरङ्को पथरीमा बुधबार सम्पन्न भएको प्रतियोगिताको फाइनलमा कानेपोखरी गाँउपालिकालाई १–० गोल अन्तरले पराजित गर्दै पथरीशनिश्चरेले उपाधी माथि कब्जा जमाएको हो । पहिलो हाफको ७ औं मिनेटमा डि एरिया नजिकैबाट मुनाले गरेको सशक्त प्रहार सिधै गोलमा परिणत भएको थियो । उनको प्रहारलाई कानेपोखरीकी किपरले ठम्याउन नसक्दा भएको गोल नै खेलको निर्णायक बन्यो ।

खेलको पहिलो हाफमा अग्रता वनाएको पथरीशनिश्चरेविरुद्ध कानेपोखरीले पटक पटक आक्रमण गरेपनि गोल गर्न भने सकेन । पथरीशनिश्चरेका वलिया डिफेन्स सामु कानेपोखरीका खेलाडी निरीह झै बनेको थियो । दोश्रो हाफमा कानेपोखरीका खेलाडीले पाएका मौका सदुपयोग गर्न नसक्दा उपविजेतामा चित्त बुझाउनु  पर्यो ।

pathari 2y

विजेता पथरीशनिश्चरेले २५ हजार रुपैँया र ट्रफि जित्यो भने उपविजेता कानेपोखरीले १५ हजार रुपैया र ट्रफिमा चित्त वुझायो । खेलको वुमेन अफ दि म्याच कानेपोखरीकी रेस्मा राई भइन् भने पथरीशनिश्चरेकी अनिता मगर वुमेन अफ दि सिरीज घोषित भइन् । पथरी शनिश्चरेकै पविना मगरले राइजिङ् प्लेयरको उपाधी जित्दा कानेपोखरीकी रमा राईले हाइ स्कोररको पुरस्कार पाइन् । विजेता हरुलाई पथरीशनिश्चरेका नगरप्रमुख दिलिप कुमार राईले पुरस्कार प्रदान गरेका थिए । अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीको संयुक्त आयोजनामा भएको प्रतियोगितामा मोरङ्गका ६ वटा गाँउ पालिका र नगरपालिकाका टिमको सहभागीता रहेको थियो ।